गोर्खा नेताहरूलाई झैँ भाजपाका शीर्ष नेताहरूलाई पनि उल्टो गलत आरोप लगाएको सांसद राजु विष्टको दावी

सिलगढी : पश्चिम बंगालको टीएमसी सरकारले जुन प्रकारले गलत नीति अप्नाइरहेको छ त्यसले अब तृणमूलको विनाश निश्चित रहेको दार्जिलिङका सांसद राजु विष्टले आरोप लगाएका छन्। तिनले गत 7 दिसम्बरको दिन सिलगढी उत्तरकन्या अभियान अवधि भएको घटनाको उल्लेख गर्दै उक्त दिन राज्यका भाजपा शीर्ष नेताहरू लगायत उत्तर बंगालका पार्टी कार्यकर्ताहरू व्यापक संख्यामा भेला भएर शान्तिपूर्ण ढङ्गमा मार्च गरेको हेर्दा अब जनताले सत्ता परिवर्तन चाहेको स्पष्ट भएको छ। तर यसलाई देखेर ममता सरकारको आदेशमा पश्चिम बंगालको पुलिसले बर्बरता देखाएको घटना खुबै अमानवीय रहेको सांसद विष्टले बताए। पुलिसले राज्यमा तृणमूल कार्यकर्ताको रूपमा काम गरिरहेको आरोप लगाउँदै भाजपाका धेरै संख्यामा कार्यकर्ताहरू घाइते भएकोले हाल अस्पतालमा उपचाराधीन अवस्थामा रहेको छ भने 50 वर्षीय उलेन रायको पुलिसले चलाएको गोली लागेर मृत्यु भएको सांसद विष्टले जारी भीडियोमार्फत् बताएका छन्। तिनले भने, बंगालमा अन्य कुनै दल खडा हुन नसकोस् भन्ने टीएमसी सरकारको ध्येय रहेकोले विगत 2017-मा पनि टीएमसी सरकारको पुलिसले दिउँसै गोर्खाहरूको हत्या गरेको थियो भने उल्टो त्यसको आरोप गोर्खा नेताहरूमाथि नै लगाइएको थियो। यसैगरी, गत 7 दिसम्बरको घटनामा पनि पुलिसले उल्टै भाजपाका शीर्ष नेतृत्वहरू तथा केही सांसदहरूमाथि यस प्रकारको गलत आरोप लगाएर एफआईआर दर्ता गरेको सांसद विष्टले बताए। यस प्रकारको नीति केवल नराम्रो राजनीति मात्र नभएर ममता सरकारको तानाशाह अमानवीय नीति, दमनकारी नीति रहेको बताउँदै अहिले पश्चिम बंगालमा गणतन्त्र खतरामा रहेको जारी भीडियोमार्फत् सांसद राजु विष्टले आरोप लगाएका छन्। उक्त घटनाको सीबीआई जाँच हुनुपर्ने पनि तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *