गोरूबथान ब्लकको नीम ग्राम पञ्चायतमा गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामूलक कार्यक्रम

सुकेपोखरी : गोरूबथान ब्लक अन्तर्गत नीम ग्राम पञ्चायतमा निशा तामाङको सक्रियता तथा जीपी स्तरीय लेभल सङ्घको पहलमा आज गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामूलक कार्यक्रम सम्पन्न गरियो। रीना थापाको अध्यक्षतामा सम्पन्न जनचेतनामूलक कार्यक्रम निशा तामाङले सञ्चालन गरेकी थिइन्। यस अवसरमा गोर्खा च्यारिटेबल हस्पिटल सांगठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटल खोल्नुको उद्देश्य तथा  यसको औचित्यबारे विस्तृत रूपमा जानकारी गराए। तिनले बताएअनुसार उक्त हस्पिटलमा 250 वटा पलङ रहनेछ भने उक्त हस्पिटल सिलगढी सालबारी र सुकुनाको बिचमा निर्माण गरिने भएको छ। उक्त हस्पटिलमा सबै बिमारीको उपचार सुलभ मूल्यमा उपलब्ध रहनेछ भने हस्पिटलसँगै एउटा भवन निर्माण गरिने छ जहाँ थोरै खर्चमा बिरामीको घर परिवारका सदस्यहरू आएर बस्न सक्नेछन्। यसको साथै हस्पिटलमै सबै प्रकारको जाँचहरू गरिने व्यवस्था पनि मिलाइनेछ। उक्त हस्पिटल ट्रस्ट मार्फत् सञ्चालन गरिने भएकोले यसको निम्ति सबैसित तिनले सहयोगको अपील गरे। यसै कार्यक्रममा को-अर्डिनेटर चयन गरियो। फापरखेतीका को-अर्डिनेटर सुदन सुब्बा, माइपतेका हेमन्त राई र अप्पर फागुका विमला राई आदिको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *