गोरूबथानको निम बस्ती तुङलाबुङमा गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामूलक कार्यक्रम

सुकेपोखरी : गोरुबथान ब्लक अन्तर्गत निम बस्ती तुङलाबुङमा गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामूलक कार्यक्रम सम्पन्न भयो। निशा तामाङको सक्रियता तथा स्वनिर्भर समूहको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता कुश लेप्चाले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा च्यारिटेबल हस्पिटल साङ्गठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको औचित्यमाथि प्रकाश पारे। 250 वटा बेड भएको प्रस्तावित हस्पिटल सालबारी र सुकुनाको बिचमा निर्माण गरिने साथै उक्त हस्पिटलमा सबै प्रकारको रोगको उपचार सुलभ मूल्यमा उपलब्ध रहने तिनले बताए। हस्पिटलसँगै एउटा भवन निर्माण गरिने जहाँ थोरै खर्चमा बिरामीको परिवारका सदस्यहरू बस्न सक्ने साथै हस्पिटल भित्रै सबै प्रकारको जाँचहरू गरिने व्यवस्था उपलब्ध रहने तिनले बताए। उक्त हस्पिटल निर्माणको निम्ति सबै वर्गका मानिसहरूको सहयोगको खाँचो रहेको तिनले बताए। कार्यक्रमबीच क्षेत्रिय संयोजक पनि चयन गरियो। गोर्खा च्यारिटेबल हस्पिटल निर्माणको सोच स्वागतयोग्य रहेको बताउँदै सबैले नै सक्दो सहयोग गर्नुपर्ने कुश लेप्चाले बताए। कार्यक्रममा  अनुषा तामाङ, फापर खेतीका को-अर्डिनेटर सुदन सुब्बा, गोरुबथानका को-अर्डिनेटर बिमला राई आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *