गौतम देवले सिलगढी नगरनिगमको मेयर पदको लागि लिए शपथ

सिलगढी : गौतम देवले आज सिलगढी नगरनिगमको मेयर पदको लागि शपथ ग्रहण गरे। यसैगरी, प्रतुल चक्रवर्तीले पनि नगरनिगमको चेयरम्यानको रूपमा शपथ ग्रहण गरे। जिल्लाशासक एस पन्नमबलमले सिलगढी नगरनिगमका मेयर तथा काउन्सिलरहरूलाई आज शपथ ग्रहण गराए। शपथ ग्रहण गरेपछि मेयर गौतम देवले भने, गत 7 महिना अघिदेखि नगरनिगमको प्रशासकको रूपमा कार्य गरिरहेको थिए भने सिलगढी नगरनिगमको परिणाम घोषणा हुन साथ तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीले मेयर पदको लागि मेरो नाम घोषणा गरेकी थिइन्। आज एउटा कार्यक्रमबिच आफूले मेयर पदको लागि शपथ ग्रहण गरेको तिनले बताए। मेयरको दायित्व ग्रहण गरेपछि अब सबैलाई साथमा लिएर निष्ठापूर्वक कार्य गर्ने साथै विरोधी पार्टीले पनि उचित परिसेवा पाउने तिनले बताए। तिनले सिलगढी सहरवासीसित सहयोग तथा समर्थनको अपील गर्दै सिलगढीवासीहरू समक्ष पुगेर तिनीहरूको परामर्श लिएर नै तिनीहरूको विविध समस्याहरूको समाधान गर्ने बताए। तिनले अझ भने, नयाँ बोर्डले भूमिहीन मानिसहरूलाई जमिन उपलब्ध गराउने, संलग्न वार्डका मानिसहरूलाई विविध सुविधा उपलब्ध गराउने, पिउने पानी परियोजनाको कार्य शुरू गर्ने, जाममुक्त सिलगढी बनाउने उद्देश्य लिएर कार्य गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *