गृहिणीलाई घरभित्र प्रवेश गर्न नदिएको ससुराली पक्षविरुद्ध आरोप, थानामा अभियोग दर्ता

सिलगढी (निसं): सिलगढीको अशोकनगर इलाकामा एउटी गृहिणीलाई ससुराली घरमा पस्न नदिएको ससुराली पक्षविरुद्ध आरोप उठेको छ। कोलकाताको काटोवा निवासी देवयानी रायको गत 2019-मा सिलगढीको अशोकनगर निवासी मेघनाथ रायको छोरा चिरञ्जीत रायसित बिहे भएको थियो। गृहिणीको आरोप अनुसार बिहेपछि दाइजोको मागमा ससुराली पक्षका सदस्यहरूले तिनीमाथि अत्याचार गर्ने गर्दथे। यसको साथै तिनलाई आफ्नो लोग्ने चिरञ्जीत रायसित छुट्टाउने प्रयास गरिरहेको तिनको आरोप रहेको छ। तिनको लोग्नेको अवैध सम्बन्ध रहेको छ। तिनी गत 7 महीनासम्म काटोवामा आफ्नो माइतामा थिइन्। तिनी जब माइताबाट घर फर्किआइन् तब तिनलाई घरभित्र प्रवेश गर्न दिएन। गत राति फेरि गृहिणीले घरभित्र पस्ने प्रयास गर्दा ससुराली पक्षका सदस्यहरूले तिनलाई धक्का दिएर गेट बाहिर निकालिदिएको गृहिणीको आरोप रहेको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगे तापनि गृहिणीलाई घरभित्र प्रवेश गराउन विफल भएको बताइएको छ। यसपछि उक्त गृहिणीले ससुराली पक्षविरुद्ध एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेकी छन्। आरोपी ससुर मेघनाथ रायले बताएअनुसार तिनका छोराले तलाकको लागि अदालतमा अर्जी चढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *