जीटीए चेयरम्यान अनित थापा चारदिने मङ्पु भ्रमणमा

मङ्पु: जीटीए अध्यक्ष अनित थापा चारदिने भ्रमणमा आज मङपु आईपुगेका छन। आज यहाँको सबैभन्दा पुरानो दुईवटा प्राथामिक पाठशाला गान्धी प्राथमिक पाठशाला अनि रेशेप प्राथमिक पाठशालाको निरीक्षण गरेपछि उक्त दुईवटा जीर्ण अवस्थामा पुगेको पाठशालालाई झट्टै नवनिर्माण गरिदिने तिनले आश्वासन दिएका छन्। यसरी नै आज यहाँको लाब्दा विभागमा अवस्थित सुन्तले धुरामा पुगेर ग्रामवासीहरुसँग भेट गर्दाको समय स्थानीय मानिसहरुको समस्याबारे ग्रामवासीको पक्षमा यहाँको नालीदेखि सुन्तले धुरासम्मको तीन किलो मीटर अलकत्रे सडक बनाइदिने अनुरोध गरेपछि जीटीए अध्यक्ष अनित थापाले उक्त सड़क चाँडै बनाइदिने आश्वासन दिए। यस अवसरमा तिनले सिन्कोना बगानका जनता अब सचेत हुने समय आएको छ भन्दै मङपुवासीले अब राज्य सरकारलाई जमिनको पर्जापट्टा माग्नु पर्ने बताए। गोजमुमो अनि जीटीएले पनि यस बिषयमा राज्य सरकारसमक्ष बारम्बार माग गर्दै आइरहेको तिनले बताए। सिन्कोना बगानवासीको पर्जापटा नभएको कारण आज यहाँ धेरैवटा विकासको कार्यहरु हुनुबाट बन्चित हुनपरेको दावी गर्दै जीटीए अध्यक्ष अनित थापाले जमीनको पर्जापटा मागको लागि सबै जनता सचेत भएर अघि आउने अपील गरे। यसको साथै सिन्कोनाको ग्रुप-डी कर्मचारीको पदोन्नति बिषयमा पनि बारम्बार आफुहरूले राज्य सरकारको सम्बन्धित विभागका मन्त्रीसँग कुराकानी गरिरहेको तिनले बताए। यसवाहेक, आज जीटीए अध्यक्ष अनित थापाले मङपु विभाग सार्वजनिक भवनमा पार्टीका कार्यकर्ताहरुसँग लगभग तीन घण्टासम्म सभा गरे। यस अवधि जीटीए पीआरओ आरबी लामा लगायत पार्टीका क्षेत्रीय शीर्ष नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *