जीटीए चिफ अनित थापाको हस्तक्षेपमा सुल्झियो नयाँ कमानका श्रमिकहरूको समस्या

खरसाङ (निसं): तीनधारे महानदी समष्टि अन्तर्गत नयाँ कमानमा बगान व्यवस्थापनले यहाँको 7 र 8 नम्बर सेक्सनमा चियाको पुरानो बोट उखेलेर नयाँ बोट लगाउने निर्देश दिएपछि व्यवस्थापनको उक्त निर्देशलाई विरोध गर्दै श्रमिकहरु आन्दोलनमा उत्रेका थिए। गत 9 दिनदेखि श्रमिकहरू बगानको यस निर्देशको विरोध गर्दै काममा अनुपस्थित पनि रहेका थिए। बगानका श्रमिकहरू अनुसार मालिक पक्षले सुरुमा होटल निर्माण गर्नुको निम्ति बोट उखेल्न निर्देश दिएका थिए। पछि आएर नयाँ बोट लगाउनु, पुरानो बोट उखेल्नु भने। यसैको विरोध श्रमिकहरुले गरेका थिए। यसपछि देखा परेको समस्याको समाधान नभएको कारण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीए चिफ् अनित थापाले हस्तक्षेप गरे। तीनधारेमा हिजो मात्र आयोजित एउटा कार्यक्रमबीच तिनले भनेका समस्याको समाधान संवादबाट नै निस्किन्छ बनेका थिए। श्रमिकहरुलाई भड्काउन नेताहरु आउँछन् तर आवेशमा आएर कुनै निर्णय नलिइने तिनले श्रमिकहरूलाई निवेदन पनि गरेका थिए। तिनले मञ्चबाट नै पार्टीका ट्रेडलाई एउटा टीम बनाएर श्रमिकहरू अनि मालिक पक्षसँग चर्चा गर्ने निर्देश दिएका थिए। यदि श्रमिकहरुले बोट उखेल्नु दिएका छैनन् भने बोट उखेल्नु हुँदैन समेत तिनले भनेका थिए।
आज यस शिलशिलामा अनित थापा नयाँ कमान आइपुगे। यस अवधि “चियाबारी नै हामीले गरिखाने बाटो हो। यदि चियाको बुट्टा नै उखेलेर गए हामीले के गरी खानु?” एकजना महिला श्रमिकले अनित थापालाई गुनासो पोखिन्। त्यही वयस्क महिलाले अनित थापालाई सोधिन्, “तपाईं यत्रो दिन कहाँ हुनुहुन्थ्यो? तपाईंले पनि देख्नु भयो होला, सुन्नु भयो होला हाम्रो दुःख?”


अनित थापाले प्रतिउत्तरमा भने, “चिया पत्तिको बुट्टा नउखेल्नु। मैले देखे कि थुप्रै नेताहरु यहाँ आएका थिए। श्रमिकहरूसँग बसेको पनि देखें। भाषण गरेको पनि सुने। सभासद्, ट्रेड युनियनका नेताहरु साथै अन्य नेताहरु पनि आएर पनि समस्या सुल्झाउनु सकेन। समस्या समाधान नभएको देखेर म आफै श्रमिकहरुलाई भेट्नु आज आएको हुँ। तिनले आफूले समस्याको विवरण राम्ररी बुझेको बताउँदै भने, “पहिला बुट्टा उखेलेको ठाउँमा नयाँ बोट लगाइएको छैन। पहिला त्यो ठाउँमा नयाँ बोट लगाउनु पर्छ। त्यसपछि श्रमिकहरूसँग बसेर बुट्टा उखेल्ने कुरा गर्नुपर्छ। यदि श्रमिकले बुट्टा उखेल्नु चाहेनन् भने बुट्टा उखालिइँदैन। दोस्रो 9 दिनको हाजिरा पनि मालिक पक्षले दिएको हुनुपर्छ। जबसम्म यी दुई कुरामा मालिक पक्षले आफ्नो निर्णय दिँदैन तबसम्म कुनै पनि श्रमिक काममा जाने छैन।”
अनित थापाले स्थलबाट नै बगानको मालिकलाई फोन गरेर 9 दिनको हाजिरा भुक्तान गर्ने अनि बुट्टा नउखेल्ने मांग राखे। बगानका प्रबन्धक पनि सभामा उपस्थित रहे। प्रबन्धकले पनि तिनले राखेको मांग मालिकको परामर्शमा मानी लिए। यसपछि जीटीए चिफ अनित थापा, श्रमिकहरू अनि प्रबन्धक तीन पक्ष सम्झौता माथि हस्ताक्षर गरे। सम्झौता अनुसार चियाको बुट्टा उखेलिने छैन अनि श्रमिकहरुले विगत 9 दिन अनुपस्थित रहेको हाजिरा पनि पाउनेछन्। अन्तमा “हामीलाई यति नै चाहिएको हो।” एक स्वरमा महिला श्रमिकहरुको आवाज सुनियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *