सिलगढी : आउँदो जीटीए चुनाउलाई लिएर यसपल्ट चुनाउ लड्नको लागि नामाङ्कन बुझाउने उम्मेद्वारहरूको रेकर्ड सङ्ख्या 318 जना पुगेको छ। जीटीए चुनाउको निम्ति यसपल्ट पार्टीका उम्मेद्वारहरू भन्दा पनि अधिक सङ्ख्यामा निर्दलीय उम्मेद्वारहरू चुनाउ मैदानमा खडा भएका छन्। हिजो अन्तिम दिनसम्म बुझाएको नामाङ्कन पत्रअनुसार जीटीएको मोठ 45 वटा समष्टिको लागि 3 सय 18 जनाले नामाङ्कन पत्र बुझाएका छन् भने जसमा 2 सय 10 जना निर्दलीय प्रार्थी सामेल छन्। चुनाउ आयोग सूत्रअनुसार यसपल्टको जीटीए चुनाउको लागि दार्जिलिङ सदरबाट हाम्रो पार्टीले 17 जना, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट 13, सीपीआईएमबाट 7 जना, तृणमूल कङ्ग्रेसबाट 5 जना अनि 76 जना निर्दलीय उम्मेद्वार गरेर मोठ 122 जनाले नामाङ्कन बुझाएका छन्। यसैगरी, खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न समष्टिहरूबाट हाम्रो पार्टीको तर्फबाट 15 जना, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट 12 जना, सीपीआईएमबाट 5 जना अनि तृणमूल कङ्ग्रेसबाट 3 जना प्रार्थी गरेर मोठ 106 जनाले नामाङ्कन बुझाएका छन्। यसैगरी, कालेबुङ जिल्लाको विभिन्न समष्टिहरूबाट हाम्रो पार्टीले 13 जना, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट 11 जना, नेशनल कङ्ग्रेसबाट 1 जना, तृणमूलबाट 2 जना गरेर मोठ 90 जना चुनाउ मैदानमा ओर्लिएका छन्। समग्रमा भन्नुपर्दा 45 वटा समष्टिको निम्ति आउँदो जीटीए चुनाउको लागि हाम्रो पार्टीको तर्फबाट सबै 45 आसन, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 36 जना, नेशनल कङ्ग्रेसबाट 5 जना, सीपीआईएमबाट 12 जना, तृणमूल कङ्ग्रेसले 10 जना अनि 210 जना निर्दलीय उम्मेद्वारहरू गरेर मोठ 318 उम्मेद्वारहरूले नामाङ्कन पत्र बुझाएका छन्। तथापि, यी उम्मेद्वारहरूमध्ये केही निर्दलीय उम्मेद्वारहरूले आउँदो 6 जुनसम्म नामाङ्कन फिर्ता लिइने सम्भावना रहेको देखिन्छ। स्मरण रहोस्, यसभन्दा अघि 2012-मा सम्पन्न भएको पहिलो जीटीएको चुनाउमा मोठ 58 जना प्रार्थी चुनाउ मैदानमा ओर्लिएका थिए। केन्द्र सरकार, राज्य सरकार र तत्कालीन गोजमुमोमाझ सम्झौत भएर गठन गरिएको जीटीएको पहिलो चुनाउ 29 जुलाई 2012-मा सम्पन्न भएको थियो। उक्त चुनाउमा गोजमुमो, तृणमूल कङ्ग्रेस र निर्दलीय उम्मेद्वारहरू गरेर मोठ 58 जना उम्मेद्वारहरू खडा भएका थिए। जसमा गोजमुमोले क्लिन स्वीप गर्दै सबै 45 वटा आसनमा जीत हासिल गरेको थियो। उक्त चुनाउमा सीपीआरएम, अभागोली, जीएनएलएफ(सी)-ले जीटीए असंवैधानिक व्यवस्था हो भन्दै चुनाउ वहिष्कार गर्नको साथै उच्च न्यायालयमा यसको विरुद्ध मुद्दा समेत दर्ता गरेको थियो। उक्त चुनाउमा गोजमुमोका 45 जना उम्मेद्वारहरूमध्ये 28 वटा आसनका उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका थिए भने मात्र 17 वटा आसनको निम्ति चुनाउ सम्पन्न भएको थियो। चुनाउमा बहुमत ल्याएर विजय हासिल गरेपछि 4 अगस्त 2012-को दिन तात्कालिन गृहमन्त्री सुशील कुमार सिन्दे अनि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको प्रमुख उपस्थितिमा विजय उम्मेद्वारहरूले दार्जिलिङको चौरस्तास्थित शपथ ग्रहण कार्यक्रममा शपथ लिएका थिए।
