जीटीए र सिलगढी महकुमा परिषद चुनाउ: सिलगढी मेट्रोपोलिटन पुलिसका अधिकारीहरूद्वारा रूट मार्च 

सिलगढी : दुई दिनपछि अब दार्जिलिङ पहाडमा जीटीएको चुनाउ अनि यता मधेस समतल क्षेत्रमा सिलगढी महकुमा परिषद् चुनाउ रहेकोले आज साँझदेखि सबै चुनाउ प्रचार बन्द हुनेछ। यसैले आज चुनाउ प्रचारको अन्तिम दिन सबै राजनैतिक पार्टीले आ-आफ्नो प्रार्थीको समर्थनमा जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। अर्कोतिर, सिलगढी मेट्रोपोलिटन पुलिसले चुनाउलाई केन्द्र गरेर कठोर सुरक्षा व्यवस्था अप्नाएको छ भने पुलिसको तर्फबाट लगातार रूट मार्च पनि गरिरहेको छ। यसै क्रममा आज सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना पुलिसको आयोजनामा थाना अन्तर्गत इलाकामा पुलिसका उच्च पदस्थ अधिकारीहरूले रूट मार्च गरे। डीसीपी कुंवर भूषण सिंह, एसीपी मनीष यादव, एसीपी राजेन छेत्री, मतिगढा थानाका आईसीको नेतृत्वमा विनर्स र र्‍याफ फोर्सले रूट मार्च गर्यो। यसपछि डीसीपी, एसीपीले रूट मार्च अवधि मानिसहरूसित कुराकानी गर्दै कुनै प्रकारको समस्या भएको खण्डमा 100 नम्बरमा फोन गरेर समस्याबारे जानकारी दिने अपील पनि गरे। स्मरण रहोस्, जीटीए-को चुनाउ दार्जिलिङ र कालेबुङ जिल्लाका मोठ 45 वटा समष्टिमा अनि सिलगढी महकुमा परिषद चुनाउ आगामी  26 जूनमा सम्पन्न हुने भएको छ। सिलगढी महकुमा परिषद क्षेत्रमा मोठ 9 आसन, पञ्चायत समितिमा मोठ 66 आसन र ग्राम पञ्चायतमा मोठ 462 आसन रहेको छ। यसैगरी, यहाँ मतदाताहरूको संख्या मोठ 5 लाख 27 हजार 938 जना रहेको छ भने तीमध्ये पुरुषहरूको संख्या 2,64,467 महिलाहरूको संख्या 2,63,468 अनि थर्ड जेन्डरको संख्या मात्र 3 रहेको छ। मोठ मतदान केन्द्रहरूको संख्या 657 रहेको छ। यस वर्ष 4 वटा ब्लकमा चुनाउ सम्पन्न गराउन मोठ 5 हजार मतदान कर्मीहरू तैनाथ गरिने छ भने प्रत्येक मतदान केन्द्रहरूमा मोठ 457 वटा सीसीटीभी क्यामारा जडान गरिने कार्य धमाधम चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *