जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेकोमा भागोप्रमो खरसाङ महकुमा समितिद्वारा स्वागत

खरसाङ (निसं) : जीटीए सभामा हिजो सोमवार गोर्खाल्याण्डको प्रस्ताव पारित गरेकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले स्वागत जनाएको छ। भागोप्रमो खरसाङ महकुमा समितिको आज एउटा सभा बसेर जीटीए सभामा जनताको पक्षमा पारित विभिन्न प्रस्तावहरूलाई स्वागत र समर्थन रहेको साथै सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेकोमा खरसाङ महकुमा समितिको तर्फबाट खुशी व्यक्त गर्दै धन्यवाद दिएको छ। सभापछि पत्रकार सम्मेलन बोलाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानले जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेकोमा स्वागत जनाउँदै आफुहरूको यसमा पूर्ण समर्थन रहेको अनि यसको लागि सबै सभासदहरू र जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेताहरूले गोर्खाल्याण्ड बेची खायो भनेर आरोप लगाउनेहरूलाई यो ठुलो उत्तर रहेको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *