जीटीए सभामा पारित गोर्खाल्याण्डको प्रस्ताव जनताको आखाँ छल्ने काम मात्र नहोस्: अजय एडवार्डस

दार्जिलिङ : गोर्खाल्याण्डको प्रस्ताव जनताको आखाँ छल्ने काम मात्र नहोस् भनि हाम्रो पार्टी अध्यक्ष एवम् जीटीए सभासद अजय एडवार्डसले बताएका छन्। तिनले भने, छुटटै राज्य गोर्खाल्याण्ड समस्त गोर्खा जातिको मुटुको ढुकढुकी हो, त्यसकारण हामीले छुटटै राज्यको प्रस्तावलाई अन्तर आत्मले नै समर्थन जनायौ। जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्नु मात्र कुनै ठूलो विषय होइन तर निर्वाचित 45 जना सभासद लगायत 5 जना मनोनित सभासदको हस्ताक्षर गरिएको प्रस्तावसँग जीटीए-को प्रतिनिनिधि टोलीले प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपाको राष्ट्रीय अध्यक्ष जेपी नडडा साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेटेर प्रस्तावको प्रतिलिपि सुम्पिनु पर्छ। यसको साथै गोर्खाल्याण्ड समस्त गोर्खाहरूको मुटुको ढुकढुकी रहेको कुरा बताउँदै अविलम्ब गोर्खाल्याण्ड गठनको प्रक्रिया शुरू गरिनु पर्ने माग गर्नु पर्छ। छुट्टै राज्य गोर्खाल्याण्डको गठन केन्द्र सरकारको विषय हो तर पनि प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र अहिले बंगालमा रहेको हुनाले गर्दा राज्यका मुख्यमन्त्रीलाई पनि यसबारे कुराकानी गर्न जरूरी रहेको अध्यक्ष एडवार्डसले बताए। जीटीए सभामा पारित गरिएको गोर्खाल्याण्ड प्रस्तावको प्रतिलिपि लिएर प्रधानमन्त्री, गृहमन्त्री, भाजपा अध्यक्ष साथै राज्यका मुख्यमन्त्रीसँग भेट गर्न प्रतिनिधि टोली कोलकता र दिल्ली जान्छ कि जान्दैन भन्ने प्रश्न तेर्साउँदा जीटीए प्रमुख अनित थापाले कुनै प्रतिउत्तर नदिएको पनि एडवार्डसले बताए। तिनले भने, जीटीए सभाले पारित गरेको प्रस्ताव ईमेल गर्नु, फ्याक्स गर्नु, कोरियर गरेर हुँदैन, जीटीएको प्रतिनिधि टोलीले स्वयम प्रधानमंत्री, गृहमन्त्री, भाजपा अध्यक्ष साथै राज्यका मुख्यमन्त्रीसित भेट गरेको हुन पर्छ। दशै-तिहारको बहना बनाएर यदि टार्ने काम गर्छ भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जनताको आखाँ छल्ने काम गर्दैछ भनेर बुझ्नु पर्छ। जीटीए सभामा गोर्खा समुदायका 11 जात गोष्ठीहरूलाई जन जातिमा सामेल गरिनु पर्छ भन्ने प्रस्ताव पनि पारित गरेको तिनले बताएका छन्। गोर्खाल्याण्डको प्रस्ताव लिएर हामीलाई पनि कोलकता अथवा दिल्ली जानु पर्ने सुझाउ राख्छ भने आफुहरू पनि तयार रहेको एडवार्डसले बताए। स्मरण रहोस, गत 19 सेप्टेम्बरको दिन जीटीए-को सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापाले गोर्खाल्याण्डको प्रस्ताव पेश गरेपछि सबै सभासदले ध्वनि मतले उक्त प्रस्तावलाई समर्थन जनाउँदै प्रस्ताव पारित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *