जीटीए शिक्षा विभागद्वारा दार्जिलिङमा शिक्षक दिवस एवम् शिक्षक सम्मान समारोह -2022 आयोजना

दार्जिलिङ: शिक्षामा राजनीति नपसोस्। मलाई शिक्षकहरुबाट राजनैतिक साथ होइन, शिक्षाको साथ चाहिन्छ। शिक्षा माथि राजनीति नगरौं भन्ने  जीटीए-का प्रमुख कार्यपाल अनित थापाले आज बयान दिए। तिनले जीटीए क्षेत्र भरिका प्राथमिक शिक्षकहरुलाई लिएर आयोजना गरिएको शिक्षक दिवस समारोहमा शिक्षकहरुलाई सम्बोधन गर्दै उक्त बयान दिएका हुन्। तिनले आफ्नो सम्बोधनमा भने, आज प्राथमिक शिक्षकहरूसँग शिक्षक दिवस मनाउने मेरो एउटै उद्देश्य रहेको छ, म पहाडमा असल शिक्षा खेती गर्न खेतीको बीज ठीक गर्नु चाहन्छु। यसमा मलाई तपाईहरुको सहयोग चाहिन्छ। पहाडको भविष्य तय गर्नु प्राथमिक शिक्षालाई नै ठीक गर्नु पर्छ। शिक्षाको खेतीलाई फस्टाउन दिनु हो भने शिक्षाको बीज नै ठीक गर्नुपर्छ, रुखलाई ठीक गर्छु भनेर हुँदैन। बिरुवालाई ठीकसँग मल-जल गर्न सकियो भने रुख राम्रोसँग उम्रेर जानेछ। पहाडमा विभिन्न राजनैतिक दललाई समर्थन जनाउने शिक्षक संगठन हरु छन्। आजको समारोहमा सबै संगठनका शिक्षकहरूको उपस्थिति रहेको थियो। अनित थापाले शिक्षकको राजनीतिमा अंश ग्रहण गर्ने अधिकार रहेको साथै तिनीहरूको कुनै पनि पार्टीलाई समर्थन गर्ने अधिकार रहेको बताए। तथापि तिनले सबैलाई अपिल गर्दै भने, पहाड अव्यवस्थित छ। व्यवस्थित पहाड बनाउने चिन्तामा म सदैव रहन्छु। आगामी पाँच वर्षमा प्राथमिक शिक्षालाई सुधार्ने मैले संकल्प लिएको छु। पहाडको शैक्षिक भविष्य प्राथमिक शिक्षकहरूको हातमा छ। शिक्षालाई राजनीतिदेखि टाडो राख्नु चाहन्छु। मलाई शिक्षकको राजनैतिक साथ होइन, शिक्षाको साथ चाहिन्छ।


शिक्षा माथि राजनीति नगरौं। हिजो के भयो, त्यता अब ध्यान निदिएर भविष्य कसरी सुधार्ने त्यता पटि काम गर्नेछु भन्ने कुरामा जोड दिँदै जीटीए अधिनस्थ दार्जिलिङ र कालेबुङ जिल्लाको शिक्षा व्यवस्थालाई ठीक गर्न दार्जिलिङ जिल्ला र कालेबुङ जिल्ला शिक्षा बोर्डको अध्यक्षको नेतृत्वमा प्राइमेरी हाई पावर्ड कमिटी बनाउने तिनले घोषणा गरे। यो कमिटीले शिक्षा माथि काम गर्नेछ भनि तिनले बताए। पहाडका सबै शिक्षक-शिक्षिकाहरुलाई शिक्षक दिवसको शुभकामना साथै अवकास प्राप्त शिक्षकहरुले विद्यार्थीहरू माथि जुन लगानी गर्नु भयो ती सबैको निम्ति धन्यवाद दिँदै थापाले भने, शैक्षिक क्रान्ति नै मेरो प्राथमिकता रहेको कुरा मैले विभिन्न मञ्चबाट दोहोराएको छु। आज अवकास प्राप्त शिक्षकहरूको संख्या देख्दा लाग्दैछ हाम्रो कतिपय विद्यालयहरुमा शिक्षकको कमी रहने रहेछ। शिक्षक बिना विद्यालयमा गुणात्मक शिक्षा कसरी स्थापित गर्नु सकिन्छ? विद्यार्थीहरुले गुणात्मक शिक्षा कसरी पाउने हुन? यही सोच्दैछु। शिक्षालाई ठीक बाटोमा ल्याउनु पूर्वाधार निर्माणको साथमा शिक्षक नियुक्ति गर्ने प्रक्रियालाई सिस्टममा ढाल्नु साथै शिक्षकको तालिम पनि मुख्य ठानेको छु। यदि पहाडलाई नयाँ उचाईसम्म पुर्याउनु हो भने पहाडको सरकारी विद्यालयहरुमा सुधार ल्याउनु नै पर्नेछ। आज 5 सेप्टेम्बर शिक्षक दिवसको उपलक्ष्यमा शिक्षा विभाग -गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन, दार्जिलिङले गोर्खा रङ्गमञ्चमा शिक्षक दिवस एवं शिक्षक सम्मान समारोह -2022 आयोजना गर्यो। कार्यक्रममा अवकाशप्राप्त ,प्यारा र पेब्याण्डका प्राथमिक शिक्षक शिक्षिकालाई सम्मान गरियो। साथमा जीटीए क्षेत्रका 16 वटा विद्यालयलाई श्रेष्ठ विद्यालयको उपाधि दिएर सम्मान गरियो। कार्यक्रममा अवकाश प्राप्त फुवागडी निम्न बुनियादी पाठशालाका प्रधान अध्यापक केसाङ लामालाई स्वर्ण कलम’  पुरस्कारले विभूषित गरियो। समारोहमा जीटीए मुख्य सचिव एस पुनबलाम, दार्जिलिङ अनि कालेबुङ जिल्ला शिक्षा बोर्डका अध्यक्षहरु अनि शिक्षा विभागका कार्यकारिणी सभासद सञ्चवीर सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *