हाम्रो पार्टी-को श्रमिक संघले दार्जिलिङको चौरस्ता परिसरमा सहिद बीआर देवानको सालिग निर्माण गर्ने

दार्जिलिङ: दार्जिलिङको चौरस्ता परिसरमा हाम्रो पार्टी-ले सहिद बीआर देवानको सालिग निर्माण गर्ने भएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्स अनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत अन्य केन्द्रीय नेतृत्वहरूले सहिद बीआर देवानको छोरो लक्षमान देवानसँग भेट गरे। चुङथुङ चियाकमान निवासी सहिद बीआर देवानले चिया श्रमिकहरूमाथि भइरहेको शोषण र अत्याचार सहन गर्न नसक्दा 25 फरवरी 2006-मा चियाकमानको पत्ती तौलिने गोदाममा प्राण त्याग गरेका थिए। तिनले आफ्नो प्राण त्याग्न अघि चियाकमानमा भइरहेको मालिकवर्गको शोषण र अत्याचारको बारेमा नोट लेखेका थिए।


सहिद बीआर देवानको चियाश्रमिकहरूप्रतिको त्याग र बलिदानको कदर गर्दै हाम्रो पार्टी र हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले दार्जिलिङको चौरस्ता परिसरमा सहिद बीआर देवानको सालिग निर्माण गर्ने निर्णय लिएको सहिदका छोरा लक्षमान देवान समक्ष राखे। सहिद बीआर देवान अनि 25 जुन 1955 को मार्गेटहोप चियाकमानको गोली काण्डमा सहिद भएका 6 जना सहिदहरूको स्मरणमा पनि सहिद वेदी निर्माण कार्यको निम्ति हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेललाई ज्ञापन चढायो। स्मरण रहोस्, गत 25 जुन 1955-मा चियाश्रमिकहरूमाथि भइरहेको अन्याय र अत्याचारको विरोधमा जन आन्दोलन भएको थियो अनि उक्त जन आन्दोलनको क्रममा मार्गेटहोप चियाकमानमा पुलिसले गोली चलाउँदा एउटी गर्भवती महिला, 14 वर्षीय बालक लगायत 6 जना सहिद भएका थिए। हाम्रो पार्टीले यी वीर सहिदहरूको त्याग र बलिदानको कदर गर्दै दार्जिलिङको चौरस्ता परिसरमा सालिग र सहिद वेदी निर्माण गर्ने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *