हरियाली प्रकृति तथा पृथिवीको रक्षा गर्ने सन्देश दिँदै साइकल यात्रामा दम्पति

राजगञ्ज : हरियाली प्रकृति तथा पृथिवीको रक्षा गर्ने सन्देश दिँदै हुगली जिल्लाको दम्पति साइकल मार्फत् विभिन्न ठाउँको भ्रमणमा निस्केका छन्। गत 28 अप्रेलको दिन हुगलीबाट साइकलमा सवार भएर भ्रमणमा निस्केका ती दम्पति प्रदीप विश्वास र सङ्गीत देवनाथ विश्वास आज राजगञ्जको आमबारी आइपुगेका छन्। तिनीहरूले आफ्नो साइकलको नाम इच्छेदाना नाम दिएको छ भने यसमा सवार भएर ती दम्पतिले विभिन्न ठाउँहरूको भ्रमण गरिरहेका छन्। तिनीहरूको भनाइ अनुसार रुखहरू काटेकोले गर्दा हरियाली कम्ती भइरहेको छ। यसबाहेक धेरैजसो मानिसहरूले प्लास्टिकको प्याकेटमा रहेको खानेकुरा खाएपछि ती प्याकेटहरू जताततै फ्याँक्ने गर्दछन्। कुनै कारण बिनै वाहनको हर्न बजाउने गरेको, चर्को आवाजमा माइक तथा डीजे बजाउने गरेको, चाँडपर्वमा हानिकारक पटेकाहरू पड्काउने गरेकोले गर्दा वातावरण दूषित हुने गर्दछ। यसैले हरियाली प्रकृति तथा पृथ्वी संरक्षणको सन्देश दिँदै आफूहरू साइकल यात्रामा निस्केको ती दम्पतिले बताए। यसभन्दा अघि पनि ती दुई दम्पतिले दक्षिण भारतको भ्रमण गरिसकेका छन्। उक्त लामो यात्रा अवधि तिनीहरूले दिउँसो भोजन सडक छेउको होटलमा खाने गरेको अनि रातिको खाना स्वयम् पकाएर खाने व्यवस्था गरेका थिए। यस यात्रामा तिनीहरूलाई धेरैजनाले सहयोग पुर्‍याएका थिए। उत्तर बंगालको यात्रापछि तिनीहरू असम प्रस्थान गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *