हरियाणाका ट्रान्सपोर्ट व्यवसायीबाट लाखौँ रुपियाँ ठग्ने आरोपी पक्राउ

सिलगढी : हरियाणाको एकजना ट्रान्सपोर्ट व्यवसायीलाई विभिन्न प्रकारले दिग्भ्रमित गरेर लाखौँ रुपियाँ ठगेको आरोपमा प्रधान नगर थाना पुलिसले गत राति एकजना व्यक्तिलाई सिलगढीबाट पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सुरजीत दासको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हरियाणाको ट्रान्सपोर्ट व्यवसायी अजय शर्माले आफ्नो ट्रान्सपोर्टको बिजनेस रहेको अनि सिलगढीमा तिनको वाहन हराएकोबारे वर्ष 2020-मा प्रधान नगर थानामा अभियोग दर्ता गरेका थिए। यसपछि सुरजीत दास नाम गरेको व्यक्तिले व्यवसायी अजय शर्मासित सम्पर्क गरेर केही रुपियाँ खर्च गरे तिनको हराएको वाहन खोजी निकालिदिने आश्वासन दिएका थिए। सुरजीतको कुरामा फँसेर व्यवसायी अजयले आफ्नो ब्याङ्क एकाउन्टबाट एकपछि अर्को गर्दै लाखौँ रुपियाँ ट्रान्सफर गरिदिए तापनि  सुरजीतले तिनलाई विभिन्न वाहन खोजी निकालिदिन नसकेपछि व्यवसायीलाई सन्देह लागेर हरियाणाबाट सिलगढी आएर प्रधान नगर थानामा सुरजीत दासविरुद्ध ठगी गरेकोबारे लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थाना पुलिसले आरोपी सुरजीत दासलाई पक्राउ गरे। आरोपीले व्यवसायी अजय शर्माबाट लगभग 5 लाख रुपियाँ लिइसकेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी सुरजीत दास विरुद्ध सिलगढी मेट्रोपलिटनको केही थानाहरूमा विभिन्न अपराधिक मामिला दर्ता रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *