हात्तीको आक्रमणमा वृद्ध महिलाको मृत्यु

मदारीहाट: मदारीहाट थाना अन्तर्गत पर्ने मध्य छेकामारीमा गत राति हात्तीले आक्रमण गर्दा स्थानीय एकजना 62 वर्षीय महिलाको घटना स्थलमै मृत्यु भएको छ। उक्त घटनापछि क्षेत्रमा हात्तीको आक्रमणको भयको माहौल सृजना भएको छ। स्थानीय बासुदेव नार्जीनारीले बताए अनुसार 62 वर्षीय किरण बाला रायको गत राति हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ। घटनाको खबर पाउन साथ घटना स्थलमा उत्तर खयेरबारी बिटका वन कर्मीहरू पुगेका थिए। महिलाको मृतदेहलाई उद्धार गरी मदारीहाट थाना पोस्टमार्टमको निम्ति लगियो। यस क्षेत्रमा गत दुई दिनको अवधि दुई भिन्न-भिन्नै स्थानमा भएको हात्तीको आक्रमणमा दुईजना वृद्ध महिला र पुरुषको मृत्यु भइसकेको थाहा लागेको छ । स्मरण रहोस, उत्तर छेकामारीमा गत 8 जूनमा रातु उराँवको पनि हात्तीको आक्रमणमा मृत्यु भएको थियो । यसैगरी, मदारीहाट खण्डमा लगभग एक वर्षको अवधिमा 15 जनाको मृत्यु भइसकेको बताइएको छ । विगत वर्षको तुलनामा यस वर्ष अझ हात्तीको आक्रमण बढेको यहाँका मानिसहरूले बताएका छन् । अर्कोतिर, गाउँलेहरूको सुरक्षाको लागि हात्तीको ताण्डव रोक्न वनकर्मीहरुले नियमित ड्युटी गरिरहेको दावी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *