हात्तीको हमलामा माध्यमिक परीक्षार्थीको मृत्यु, शिक्षा, पुलिस तथा वन विभागलाई मुख्यमन्त्रीको विशेष निर्देश

सिलगढी : हात्तीको हमलामा माध्यमिक परीक्षार्थीको मृत्यु भएको घटनामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दुख प्रकट गरिन्। जङ्गल इलाकामा बसोबासो गर्ने विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा जानको लागि बसको व्यवस्था गरिदिने तिनले शिक्षा विभागलाई निर्देश दिएकी छन्। आज बिहान गजलडोबा संलग्न महाराज घाट इलाकामा हात्तीको हमलामा एकजना माध्यमिक परीक्षार्थीको मृत्यु भएको छ। बाइकमा सवार भएर बाबासित गइरहेको समय हात्तीको हमलामा अर्जुन दास नाम गरेको विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनाप्रति मुख्यमन्त्री ममता ब्यानर्जीले दुख प्रकट गरिन्। आज उत्तरकन्याबाट निस्केपछि तिनले भनिन्, यो खुबै दुखद घटना हो। आज बिहानै उक्त खबर सुनेर मन दुखी छ। यो हाम्रो हातमा छैन। हात्तीको संख्या निक्कै बढेको छ। यसले गर्दा पश्चिमबंग अनि झारखण्डमा निक्कै समस्या भइरहेको छ। जङ्गल इलाकामा बसोबासो गर्ने विद्यार्थीहरूको लागि बसको व्यवस्था गरिदिने शिक्षा विभागलाई निर्देश दिएको छु। यसको साथै वन विभाग र पुलिसलाई पनि नजरदारी राख्ने निर्देश दिएको छु। मुख्यमन्त्रीको निर्देश अनुसार जलपाईगढीका जिल्लाशासक, सिलगढीका पुलिस कमिश्नर तथा मेयर मृतक छात्रको घरमा गएर घटनाप्रति शोक समवेदना प्रकट गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *