हत्याको आरोपमा स्वास्नी, साली र साथी पक्राउ, तीनै जनालाई उभ्याइयो आज अदालतमा

सिलगढी (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले आफ्नै लोग्नेलाई षडयन्त्र गरेर हत्या गरेको सन्देहमा स्वास्नी, साली र तिनका साथीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा सुमी उर्फ सुमित्रा राय घोष (26), सुचित्रा बर्मन (23) र नन्दा उर्फ नन्दना राय (26) सामेल छन्। स्मरण रहोस, गत सोमवार बिहान पुलिसले प्रधान नगर थाना अन्तर्गत समर नगर बड़तला संलग्न जमाई बजार इलाकाको एउटा घरभित्रबाट तपन घोष नामक एकजना व्यक्तिको झुण्डिएको अवस्थामा शव उद्धार गरेको थियो। यस अवधि परिवार पक्ष अनि छिमेकीहरूले तपन घोषको मृत्यु हुनुमा तिनकी स्वास्नी सुमित्रामाथि सन्देह जताएका थिए। त्यस समय तपन घोषको रहस्यमय मृत्युको घटनालाई लिएर परिवार पक्ष निक्कै आक्रोशित बनेको देखिएको थियो। यसपछि पुलिसले सन्देहको आधारमा पहिला मृतक तपन घोषका स्वास्नी सुमित्रा, साली सुचित्रा र साथी नन्दनालाई हिरासतमा लिएको थियो। यसपछि प्राथमिक रूपमा मामिलाको जाँच गर्दा पुलिसले मृतककी स्वास्नी, साली र साथीलाई हत्याको आशंकामा पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो। अर्कोतिर, तपन घोषले वाध्य भएर आत्महत्या गरेको हो अथवा षडयन्त्रपूर्वक तिनको हत्या गरिएको भन्ने बारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुलासा हुनेछ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *