हिल फुटबल एकाडेमीको खेलाड़ी नानीहरूलाई ट्रयाक सुट वितरण

खरसाङ: खरसाङको मन्टिभियट खेल मैदानमा हिल फुटबल एकाडेमीको फुटबल खेलाड़ी नानीहरूलाई एकाडेमीको अफिसियल ट्रयाक सुट वितरण गरियो। राष्ट्रिय स्तरको खेलाड़ी नगेन तामाङद्वारा विगत 2020 देखि खरसाङमा शुरु गरेको फुटबल एकाडेमीमा हाल 70-80 जना 6 वर्षदेखि 21 वर्षसम्मका युवा खेलाड़ीहरूले प्रशिक्षण लिइरहेका छन्। उक्त मन्टिभियट खेल मैदानमा आज दोस्रो चरणको वितरण अन्तर्गत एकाडेमीको 40  फुटबल खेलाड़ीहरूलाई ट्रयाक सुटहरू वितरण गरियो। योभन्दा एक सप्ताह अघि नै पहिलो चरणमा खेलाडीहरूलाई ट्र्याक सुटहरू वितरण गरिएको थियो। आजको यस ट्रयाक सुट वितरण कार्यमा प्रमुख अतिथिको रूपमा खरसाङ पुलिस थानाका आईसी निबेन्दु सरकार, विशिष्ट अतिथिहरूमा एसआई मानव बर्मन, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघका सचिव निर्मल गुरुङ, फिरोज अख्तर उपस्थित थिए। कार्यक्रममा हिल फुटबल एकाडेमीको मुख्य सञ्चालक नगेन तामाङले सबै अतिथिहरूलाई खदार्पणसहित स्वागत जनाएका थिए भने तिनले हिल फुटबल एकाडेमी र यहाँको फुटबल खेलाड़ी नानीहरूको विषयमा जानकारी गराए। कार्यक्रममा मुख्य अतिथि खरसाङ थानाका आईसी निबेन्दु सरकारले नगेन तामाङ राष्ट्रिय स्तरको खेलाड़ी हुन् र तिनले खरसाङको मात्र होइन तर सम्पूर्ण पहाड़को नै नाम उच्च राखेको बताए। तिनले यस हिल फुटबल एकाडेमीको फुटबल खेलाड़ी नानीहरू पनि भविष्यमा देशको लागि खेल्ने छन् भनी आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *