आईसीडीएस परीक्षाको प्रश्न पत्र समयमा नपाएको आरोपमा परीक्षार्थीहरूद्वारा विरोध प्रदर्शन

अलिपुरद्वार : आईसीडीएस कर्मचारीहरूको नियुक्तिलाई लिएर अलिपुरद्वार जिल्लाको विभिन्न स्कुलहरूमा आज परीक्षा चलिरहेको छ भने समयमै प्रश्न पत्र स्कुलमा नपुर्‍याइएको आरोप उठेको छ। यसको साथै केही स्कुलहरूमा परीक्षार्थीको तुलनामा प्रश्न पत्र कम्ती भएको आरोप लगाउँदै परीक्षार्थीहरूले जिल्लाको विभिन्न स्कुलहरूमा विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार आज अलिपुरद्वार 2 नम्बर ब्लकको लोकनाथपुर हाई स्कुल, मजीदखाना हाई स्कुल, सलसलाबाड़ी हाई स्कुल, कुमारग्राम ब्लक अन्तर्गत रहीमाबाद वर्कर्स हाई स्कुल, अलिपुरद्वार कालेज, अलिपुरद्वार महिला कलेज लगायत अन्य स्कुलहरूमा परीक्षार्थीहरूले समयमा प्रश्नपत्र नपाएको बताइएको छ। अलिपुरद्वार 2 नम्बर ब्लकको पञ्चायत समितिका अध्यक्ष अनुप दास मजीदखाना हाई स्कुल पुगेपछि परीक्षार्थीहरूले तिनलाई घेराउ गरेर विरोध प्रदर्शन गरे। यसको साथै परीक्षार्थीहरूले 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर शामुकतला पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *