इन्द्रबहादुर राईको जन्मजयन्ती तथा इबरा स्मारक ग्रामीण पुस्तकालयको उदघाटन

मिरिक: तराईको नवगठित साहित्यिक संस्था इबरा साहित्य प्रतिष्ठान र हिलेझोडा प्रगति समाजको संयुक्त आयोजनामा इन्द्रबहादुर राईको जन्मजयन्ती र इबरा स्मारक ग्रामीण पुस्तकालयको उदघाटन समारोह-2021 हिलेझोडाको सार्वजनिक भवनमा विविध कार्यक्रमको साथमा सम्पन्न गरियो। प्रतिष्ठानका अध्यक्ष डा. जेम्स विश्वको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि भारतीय नेपाली साहित्यका समालोचक एवं सोनादा महाविद्यालयका नेपाली विभागका प्राध्यापक मेघनाथ छेत्री थिए भने अन्य विशिष्ट अतिथिहरुमा कवि गोकुल रसाईली, छोटाटिङलिङ प्राथमिक पाठशालाका भूतपूर्व प्रधानाध्यापक केपी शर्मा, धुर्व राई, कथाकार अर्जुन थापा, कैलाश खवास, जतन आचार्य, प्रगति समाजका अध्यक्ष किरण राई आदिको उपस्थिति रहेको थियो। अर्पण राई र रोहित तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण कैलाश खवासले राखेका थिए। प्रतिष्ठानका महासचिव मनोहर शर्माले इन्द्रबहादुर राईको परिचय र आयामेली आन्दोलनबारे वक्तव्य प्रस्तुत गर्दै इन्द्रबहादुर राईको योगदानले भारतीय नेपाली साहित्यको ऊचाई बढेको दावी गर्दै आयामेली आन्दोलनको विषयमा सारगर्भित वक्तव्य प्रस्तुत गरे।


विमल शर्माले इन्द्रबहादुर राईको लीलालेखन बारे वक्तव्य प्रस्तुत गरे। हिलेझोडा प्रगति समाजले निर्माण गरेको इबरा स्मारक ग्रामीण पुस्तकालयको उदघाटन प्रमुख अतिथि प्रा. मेघनाथ छेत्रीको बहुलीबाट गरियो। प्रा. मेघनाथ छेत्रीले आफ्नो प्रमुख अतिथिको वक्तव्यमा इन्द्रबहादुर राई बिना भारतीय नेपाली साहित्यमा खाडल पर्ने बताए। राईले नेपाली साहित्यको उत्थानमा महत्वपूर्ण योगदान पुऱ्याएकोले नेपाली साहित्यको ऊचाई बढेको छ भन्दै यसरी सानो ठाउँमा यस्तो महत्वपूर्ण कार्य भएकोले अब गाउँले शहरलाई राम्रो कुरा सिकाउने संस्कार शुरू भइसकेको बताए। नेपाली साहित्यको सम्पत्ति हुन् इन्द्रबहादुर राई भन्दै तिनले इबरा स्मारक ग्रामीण पुस्तकालय इन्द्रबहादुर राईको विषयमा शोध गर्ने स्थान बनोस् भन्ने कामना गरे। कार्यक्रममा केपी शर्मा, यशोदा शर्मा, विवेक सार्की, जतन आचार्य, रामकृष्ण छेत्री, अभिषेक थापा, रबिन्द्र शर्मा आदिले कविता वाचन अनि मुस्कान थापा र सुकछिरिङ लेप्चाले गीतहरू प्रस्तुत गरे। हिलेझोडा प्रगति समाज र च्याँगा साई नगरका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरे। आयोजक समितिको पक्षमा कार्यक्रमको प्रमुख अतिथि प्रा. मेघनाथ छेत्री, मिरिक साहित्य सुनौको पक्षमा गोकुल रसाईली र छोटाटिङलिङको प्रगतिशील नागरिक मञ्चको पक्षमा अध्यक्ष अर्जुन थापालाई स्मृति चिन्ह प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *