खरसाङ : इन्डियन नेशनल तृणमूल ट्रेड युनियन कङ्ग्रेस (आईएनटीटीयुसी) को सचिव सन्तोष मोक्तानले खरसाङ महकुमा अन्तर्गत पर्ने चियाबारीहरूको भ्रमण गरेर चियाबारी क्षेत्रको विभिन्न समस्याहरू सङ्कलन गर्ने कार्य गरिरहेका छन्। केही समय अघि सन्तोष मोक्तानलाई तृणमूल कङ्ग्रेसको ट्रेड युनियन आईएनटीटीयुसी-को राष्ट्रिय सचिवको पदमा नियुक्त गरिएको थियो। त्यसैले उक्त पद पाएपछि सन्तोष मोक्तानले आफ्नो कार्यलाई अघि बढाउँदै खरसाङ महकुमा अन्तर्गत पर्ने चियाबारीहरूमा स्थलगत परिभ्रमण गरेर चिया श्रमिकहरूको विभिन्न समस्याहरू र अवश्यकता बुझ्ने प्रयास गरिरहेको जानकारी गराएका छन्। आईएनटीटीयुसी-का सचिव सन्तोष मोक्तानले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर आफुले गरिरहेको कार्य विषयमा जानकारी गराएका छन्। तिनले चिया बगानहरूमा गरिरहेको सर्वे विषयमा बोल्दै अहिलेसम्म खरसाङ क्षेत्रमा रहेको 7 वटा चियाबारीहरूको भ्रमण गरिसकेको र विभिन्न समस्याहरू तयारी पारेको बताउँदै ती तयार पारेको विस्तृत रिपोर्ट विभिन्न चिया विभाग, आईएनटीटीयुसी कलकत्ता अनि राज्य सांसद शान्ता छेत्री समक्ष पुऱ्याउने बताएका छन्। आईएनटीटीयुसी-का सचिव सन्तोष मोक्तानले चियाबारीहरू भ्रमण गरी विभिन्न समस्याहरू सङ्कलन गरिरहेको र ती सबै रिपोर्टहरू राज्य सभा सासंद शान्ता छेत्रीलाई र तृणमूल कङ्ग्रेसको ट्रेड युनियन आईएनटीटीयुसी-को सभामा पनि कुरा राख्ने बताएका छन्। तिनले चियाबारीहरूको भ्रमणमा पुग्दा चियाबारीहरूमा धेरै समस्याहरू देखिएको र कतिवटा चियाबारीहरूमा अहिलेसम्म श्रमिकहरूको पक्षमा चार्टर डिमाण्ड पनि नराखिएको बताए। यसको साथै अवकाशप्राप्त भएपछि पनि श्रमिकहरूले पीएफ र ग्र्याजुएटी नपाएको र यसको मुख्य कारण श्रमिकहरूको आधार कार्ड र अन्य कागजपत्रहरूमा हिज्जे नमिल्ने भएकोले धेरै समस्याहरू भइरहेको र त्यसतर्फ पहाड़को युनियनहरूले काम नगरिरहेको आरोप लगाएका छन्। त्यसैले तिनले चिया बगानहरूको समस्या समाधानको लागि सरकारलाई कार्य गरिदिनलाई निवेदन गर्ने पनि बताएका छन्।