जागृति परिवार खरसाङको स्वर्ण जयन्ती समारोह साथै सम्मान एवं संवर्द्धना कार्यक्रम

खरसाङ (निसं): 29 जुलाई सन् 1973 सालमा स्थापना भएको जागृति परिवार खरसाङको स्वर्ण जयन्ती समारोह अन्तर्गत सम्मान एवं संवर्द्धना कार्यक्रम सम्पन्न गरियो। नेपाली नाटक मञ्चनको क्षेत्रमा उल्लेखनीय योगदान दिने जागृति परिवार खरसाङले स्वर्ण जयन्ती समारोह गोर्खा जनपुस्तकालय खरसाङको पारसमणि प्रधान प्रेक्षागृहमा आज परिवारकै सभापति खेमराज राईको अध्यक्षतामा र प्रख्यात नाटककार एवं वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशुको प्रमुख आतिथ्यमा सम्पन्न गऱ्यो। गोमा सुब्बा, सविता गजमेर र देविका मंग्राती राईले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण जागृति परिवारको सचिव राजेन्द्रप्रसाद थापाले राखेका थिए। कार्यक्रममा वरिष्ठ नाटककार पी अर्जुन, जागृति परिवारको संस्थापक एवं वरिष्ठ साहित्यकार पूर्ण गुरुङ निरुपम, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङ, भाइस चेयरम्यान सुवास प्रधान, जीटीएका सभासद श्याम शेर्पा, समाजसेवी टीटी लामा, पण्डित तुलसी अधिकारी, मोहन गुरुङ आदि उपस्थित थिए। कार्यक्रममा जागृति परिवारका नानीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि एंव विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा जागृति परिवारका संस्थापकहरू र सदस्यगण साथै मतिगढा घटनाको दिवङ्गत नाबालिगको स्मरणमा श्रद्धाञ्जलि दिँदै दुई मिनटको मौन धारण गरिएको थियो।


कार्यक्रममा कृष्ण शर्मा, दिपुञ्ज लामा, बिमल गुरुङ आदिले गीत प्रस्तुत गरेका थिए भने अरूणा छेत्री सुन्दासको निर्देशनमा नानीहरूले गुरूङ नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा जागृति परिवारको पचास वर्ष आजीवन सदस्यता लिएका दुईजना वरिष्ठ सदस्यहरू क्रमैले पूर्ण गुरुङ निरुपम र वर्तमान सभापति खेमराज राईलाई स्वर्ण श्री सम्मानले सम्मानित गरियो। त्यसरी नै पच्चीस वर्ष पुगेका आजीवन सदस्यहरू तथा साधारण सदस्यहरूलाई पनि रजत श्री सदस्यद्वारा सम्मानित गरियो। वरिष्ठ साहित्यकार, अब्बल नाटककार र निर्गेशक एवं कवि पी. अर्जुनलाई जागृति परिवारको पक्षबाट सम्मान जनाइयो। तिनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर साथै शल ओढाएर अनि संवर्द्धना पत्र प्रदान गरेर सम्मानित गरियो। त्यसरी नै जागृति परिवारको संस्थापक पूर्ण गुरुङ निरुपमलाई यसपाली जीटीएले नाटक क्षेत्रमा प्रदान गरिने डीबी परियार स्मृति पुरस्कारले पुरस्कृत गरिएकोमा जागृति परिवारले सम्मान जनायो। कार्यक्रममा जागृति परिवारको पक्षबाट भरत गुरुङ, बिजयकुमार राई, रमेश रसाईली र प्रीति तामाङलाई सम्मानित गरियो। कार्यक्रममा नाटककार पी अर्जुन, प्रमुख अतिथि राजु प्रधान हिमांशुले वक्तव्य राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *