जयगाउँमा बिजुलीको करेन्ट लागेर सिलगढीको युवकको मृत्यु

सिलगढी : जयगाउँमा काम गर्न गएका युवकको बिजुलीको करेन्ट लागेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक युवक सञ्जु दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सिलगढीको 34 नम्बर वार्डको सूर्यसेन कोलनी निवासी सञ्जु दास सिलगढीको एउटा गैर सरकारी संस्थामा काम गर्ने गर्दथे। गत शुक्रबार तिनी संस्थाको तर्फबाट जयगाउँमा काम गर्न गएका थिए भने त्यहीँ बिजुलीको करेन्ट लागेर तिनको मृत्यु भएको बताइएको छ। हिजो तिनको मृतदेह सिलगढीस्थित तिनको वासस्थानमा ल्याइपुर्‍याएपछि परिवार लगायत इलाकामा शोकको लहर छाएको छ। तिनी परिवारको एकमात्र आयको स्रोत थिए। तिनले आफूपछि आमा, स्वास्नी लगायत दुईजना स-साना नानीलाई छाडिगएका छन्। घटनापछि उक्त संस्थाको तर्फबाट कुनै प्रकारको सहयोग नगरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। अर्कोतिर, घटनाको खबर पाएर 34 नम्बर वार्डका काउन्सिलर विमान तरफदार शोकाकुल परिवारसित भेट गर्न तिनको वासस्थानमा पुगेर परिवारका सदस्यहरूलाई शोक समवेदना प्रकट गर्दै सहयोग गर्ने आश्वासन पनि दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *