जल जीवन मिशन परियोजना अन्तर्गत रोहिणीमा 5 वटा योजनाको सभासद कल्पना प्रधानले गरिन् शिलान्यास

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत रोहिणीमा जल जीवन मिशन परियोजना अन्तर्गत 5 वटा योजनाको शिलान्यास जीटीएको मातृ एवम् शिशु कल्याण विभागका कार्यकारी सभासद कल्पना प्रधानले गरिन्। खरसाङ रोहिणीको गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रोहिणी बुथ कमिटीका सभापति प्रदीप प्रधानले गरेका थिए भने प्रमुख अतिथिका रुपमा जीटीए कार्यकारी सभासद एवम् क्षेत्रीय सभासद कल्पना प्रधान उपस्थित थिइन्। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, खरसाङ महकुमा समितिको सभापति एवम् खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ महकुमा समितिको सचिव तथा जीटीएको मनोनित सभासद प्रमाण रसाईली, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, भीम लामा, पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्राती आदिले वक्तव्य राखे। कार्यक्रममा रोहिणी क्षेत्रको पक्षबाट भीम लामा, नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, क्षेत्रीय सभासद कल्पना प्रधान, मनोनित सभासद प्रमाण रसाईली, विभागीय कार्यकारी अभियन्ता मणिरत्न मंग्राती, समष्टि स्तरीय नेतृत्वहरूलाई सम्मान जनाइयो।


कार्यक्रममा लगभग 2 करोड़ 30 लाख रुपियाँको लागतमा जल जीवन मिशन अन्तर्गत घर-घरमा पानी पुर्याउने कार्य अन्तर्गत आज 5 वटा पानीको योजनाहरूको शिलान्यास गरेपछि काम गर्ने ठेकेदारहरूलाई आ-आफ्नो क्षेत्रका जनतालाई ठोकेदार चिनाउने कार्य पनि गरियो। कार्यक्रममा गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि क्षेत्रीय सभासद कल्पना प्रधानले जनताको सेवाको लागि आफु राजनीतिमा आएको बताउँदै पार्टी अध्यक्ष अनित थापाले आफुलाई जनताको सेवा गर्नो मौका दिएको बताइन्। तिनले चुनाउ अघि गरेको वाचाहरू पूरा गर्दै म हरेक जनताको दु:खमा पुग्न चाहन्छु भनी बताएकी छन्। तिनले रोहिणीलाई पर्यटकीय क्षेत्रमा विकसित गराएर लैजाने कार्य गर्ने अनि यसको लागि योजनाहरू तयार पारेको र यस विषयमा पर्यटन विभागीय सभासदसित कुरा गरिसकेको बताउँदै रोहिणी क्षेत्रमा होम स्टेहरू निर्माण कार्यको लागि पहल गरिने, रोहिणी झीललाई सुन्दरीकरण गरी नौका सञ्चालन गर्ने, रोहिणीको गेस्ट हाउसको सुन्दरीकरण कार्य पूरा भएकोले अब यसलाई सञ्चालनमा ल्याउने कार्य गरिने र पानी नपुगेको गाउँहरूमा पनि अब पानी चाँढ़ै पुऱ्याउने बताए। आज शिलान्यास गरिएको पानीको योजनाहरूको काम असल प्रकारले हुन पर्ने साथै ठेकेदारहरूले स्थानीय जनतासित मिलेर कार्य गर्ने अनि जनताले पनि ठेकेदारहरूलाई सहयोग गर्ने सुझाउ पनि तिनले दिएकी छन्। आज शिलान्यास गरिएको पानीको योजनाहरूमा खरसाङको रोहिणी अन्तर्गत मार्चेबुङमा 23 वटा घरको लागि 60 लाख 37 हजार, 7 सय 23 रुपियाँ लागत खर्चमा, लोवर चिसोपानीमा 85 वटा घरको लागि 69 लाख 92 हजार 4 सय 22 रुपियाँको लागतमा, लाप्चेरको 84 घरको लागि 63 लाख 44 हजार 1 सय 18 रुपियाँ खर्चमा, रोहिणी चियाबारीका गाउँरूमा 425 वटा घरको लागि 27 लाख 68 हजार 5 सय 82 रुपियाँको खर्चमा अनि यसै समष्टी अन्तर्गत अम्बटेको सिरिसेमा 120 वटा घरको लागि 9 लाख 34 हजार 6 सय 50 रुपियाँको लागतमा काम भइरहेको बताइएको छ। शिलान्यास कार्यक्रममा आज गाड़ीधुरा पुलिस आउट पोष्ट ओसी सदानन झा, भागोप्रमो केन्द्रीय सदस्य सन्तोष लामा, खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामु, लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, नारी शक्ति समष्टि सभापति रेजिना थिङ लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *