जलपाईगढी अस्पतालबाट हराएको कोरोना संक्रमित वृद्धको शव उद्धार

राजगञ्ज : जलपाईगढीको विश्वबाङ्ग्ला कोभिड अस्पतालबाट निखोज कोरोना संक्रमित वृद्धको शव राजगञ्ज ग्रामीण अस्पतालबाट उद्धार भएको छ। प्राप्त जानकारी अनुसार जलपाईगड़ी जिल्ला अन्तर्गत पर्ने चालसाको पूर्व बाताबारी इलाकाका निवासी कोरोना संक्रमित एकजना वृद्धलाई गत 11 मईको दिन जलपाईगढी विश्वबाङ्ग्ला कोभिड अस्पतालमा भर्ना गरिएको थियो। परिवारका सदस्यहरूले बिहिबार बिहान तिनलाई धेरैपल्ट फोनमार्फत् सम्पर्क गर्ने प्रयास गरे तापनि तिनले फोन नउठाएपछि परिवारका सदस्यहरू जलपाईगढी कोभिड अस्पतालमा पुगे। अस्पताल पुगेपछि तिनीहरूले कोरोना संक्रमित वृद्धले आफ्नो फोन अस्पतालमै छोडेर त्यहाँबाट भागेकोबारे थाहा पाए। यसपछि परिवारका सदस्यहरूले जिल्ला मुख्य स्वास्थ्य अधिकारीकहाँ यसबारे एउटा अभियोग दर्ता गरे। अर्कोतिर, राजगञ्जको फाटापुकुर इलाकामा स्थानीय मानिसहरूले हिजो साँझ उक्त वृद्धलाई यताउता घुमफिर गरिरहेको देखेका थिए। तिनी अस्वस्थ भएर लडेपछि स्थानीय मानिसहरूले तिनलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहीँ तिनको मृत्यु भएको बताइएको छ। घटनाको जानकारी पाएर आज मृतकका परिवारका सदस्यहरू राजगञ्ज ग्रामीण अस्पताल पुगेर शवलाई अन्तिम संस्कारको लागि साहुडाङ्गीको बैतरणी श्मशानमा लगे। मृतकका भाइले बताएअनुसार तिनको ठुलो दाजु कोरोना संक्रमित भएपछि जलपाईगढीको विश्वबाङ्ग्ला कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने त्यहाँ सुरक्षा व्यवस्था राम्रो नरहेकोले गर्दा नै रोगी त्यहाँबाट निखोज भएको हो। उक्त कोभिड अस्पतालबाट कोरोना संक्रमितहरू हराउने गरेको आरोप लगाउँदै तिनले आफ्नो दाजुको मृत्युको लागि अस्पताल प्रबन्धकलाई जिम्मेवार ठहराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *