जमिन दखल गरेर बिक्री गर्ने प्रयास गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशपछि सिलगढीमा भू-माफियाहरूविरुद्ध लगातार धडपकड अभियान जारी छ। केवल 15 दिनको अवधिमा 100 भन्दा अधिक भू-माफियाहरूलाई सिलगढी मेट्रोपोलिटनको 4 वटा थानाले पक्राउ गरेको छ। यसै क्रममा प्रधान नगर थाना पुलिसले गत राति थाना अन्तर्गत मिलन मोड़ इलाकाबाट एकजना व्यक्तिको निजी जमीन दखल गरेर बिक्री गर्ने प्रयास गरेको आरोपमा राहुल महतो र तोफील उरावलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 22 अप्रेलको दिन ऋषभ गुप्ता नाम गरेको एकजना व्यक्तिले जमिन दखल गरेकोबारे प्रधान नगर थानामा एउटा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले तोफील उराव र राहुल महतो नाम गरेको दुईजना भू-माफियालाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना व्यक्तिले ऋषभ गुप्ताको मिलन मोड़ नजिक रहेको जमिन दखल गरेर बिक्री गर्ने तयारीमा थिए तर यसभन्दा अगावै पुलिसले ती दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *