जमीनको पर्जापट्टा दिलाएर गोर्खाल्याण्डको घडेरी निर्माण गर्नेछु: छिरिङ लामा दाहाल

खरसाङ : खरसाङ विधानसभा समष्टि गोजमुमो विनय खेमा प्रार्थी छिरिङ दहालले आज चुनाउ प्रचार गर्दै पंखाबारी-लङ्गभ्यू-अम्बटे समष्टिको भ्रमण गरिन्। तिनलाई यस अवधि समष्टिका विभिन्न गाउँहरूमा स्वागत जनाइयो अनि उनलाई नै भोट दिने वचन दिए। रोहिणीबाट शुरू गरिएको चुनाउ प्रचार अवधि नारी मोर्चा नेत्री अनु प्रधान, जैतून निशा, मैया ठकुरी, डीटीडीपीएलयु केन्द्रिय समिति सभापति करुणा गुरूङ, समष्टि अध्यक्ष प्रणाम रसाईली, सचिव ललित प्रधान, कार्यकारी सभापति सन्तोष लामा, फुलचन्द कुजूर,नारी मोर्चा समष्टि सभापति, सचिव रिना थिङ, सत्या गोले लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए। प्रार्थी दहालले गाड़ीधुरामा पदयात्रा पनि गरिन् भने दुधेमा जाँदा स्थानीय युवा पार्टी कार्यकर्ताहरूले मोटर बाइक र्यादली गरेर लगे औ यहाँ तिनलाई नौमति बाजाद्वारा भव्य स्वागत जनाइयो। दुधेका विभिन्न गाउँहरूमा भोटको निम्ति अपिल गर्दै प्रार्थी छिरिङ दाहालले पैदल यात्रा पनि गरिन्। भ्रमण अवधि दुधेमा दहालले चुनाउ कार्यालय पनि उद्घाटन गरिन्।


यस अवधि दहालले लङ्गभ्यू चियाबारीका विभिन्न गाउँहरू,पंखाबारी, मकैबारी,अम्बटे आदि क्षेत्रका जनसाधरणहरूलाई पनि सम्बोधन गरिन् भने यी ठाउँहरूमा तिनलाई स्थानीय मानिसहरूले स्वागत जनाए। यस अवधि दहालले जनसाधरणलाई सम्बोधन गर्ने क्रममा अब जमीन भएर पनि ती जमीनको पर्जापट्टा नभएको कारण एउटा राम्रो घर समेत बनाउन नसकेका हाम्रा शोषित अनि निमुखा जनताको जमीनको पर्जापट्टा दिलाएर गोर्खाल्याण्डको घरेड़ी निर्माण गर्नुछ भनी बताइन्। तिनले गोर्खाल्याण्ड मागेर होइन तर निर्माण गर्नुपर्छ भन्दै यसको निम्ति सर्वप्रथम आफ्नो जमीनको पर्जापट्टा आफ्नो नाममा हुनुपर्ने भएकोले यस दिशामा आफुले विगतमा पनि धेरै काम गरेको औ यसपल्ट चुनाउमा जितेर गएको खण्डमा यो पर्जापट्टाको मागलाई फत्ते गराएरै छोड़ने वचन दिइन्। तिनले पार्टी अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको कुशल नेतृत्वले गर्दा आज पहाड़मा शान्ति अनि गणतन्त्र फर्कीआएको बताइन्। तिनले भनिन्, म काम गर्न आएकी हुँ, मलाई अनित थापा र विनय तामाङले भरोशा गरेर काम गर्न पठाएका हुन् त्यसर्थ म अवश्य काम गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *