जंगपाना चियाबारीमा मालिकपक्षको रिसोर्ट बनाउने योजनाको स्थानीय मानिसहरूद्वारा विरोध

खरसाङ : खरसाङ महकुमा अन्तर्गत जंगपाना चियाबारीमा बनिने रिसोर्ट योजनाको स्थानीय मानिसहरूले विरोध गर्न थालेका छन्। जंगपाना चियाबारीमा मेफेयरको रिसोर्ट बनिने कुरा थियो। यसैबीच सामाजिक सञ्जालमा जंगपाना चियाबारीमा रिसोर्ट बनिँदा यस चियाबारीका कतिपय मानिसहरूको घर भत्काएर रिसोर्ट बनिने कुरा गर्दै निलु राई नामक महिलाको अडियो भाइरल बनेको थियो। जंगपाना चियाबारी खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिभित्र पर्दछ। यो जंगपाना चियाबारी जंगपाना टी कम्पनी लिमिटेड नामक कम्पनीको अधीनस्थ रहेको छ भने गत 25 जनवरी 2022 देखि नयाँ मालिकले लिएको छ। यस विषयमा जानकारी दिन जंगपाना चियाबारी पुग्दा जंगपाना चियाबारीमा रिसोर्ट बनिने तर घरहरू भत्काएर बनिने कुरा उठाएर अडियो भाइरल बनेको महिला निलु राई जंगपाना चियाबारीकै रहेको तर उनी विवाह भएर बाँसघारी गएको जानकारी प्राप्त भएको छ भने तिनले अहिले पनि जंगपानामा नै भोट हाल्दै आएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार जंगपाना चियाबारीमा कम्पनीले रिसोर्ट बनाउन तीनवटा स्थान चयन गरेको र त्यसमध्ये माथिल्लो जंगपाना क्षेत्रमा बनाउन परे केही घरहरू पनि परिधिभित्र पर्ने र कम्पनीले नयाँ घर बनाइदिने भनिए तापनि गाउँलेहरूले त्यसको विरोध गरेको बताइएको छ। यस विषयमा जंगपाना चियाबारीको प्रबन्धक रबिन्दर सिंह चौधरीसित जान्न चाँहदा तिनले पत्रकारहरूसित कुराकानी गर्दै जंगपानामा कुनै रिसोर्ट बनाउने योजना नरहेको र हामीले कसैलाई पनि घर छोड्न र घर भत्काउन नोटिस जारी नगरेको बताएका छन्। तिनले हामीले रिसोर्ट होइन तर उन्नत प्रकारको होम स्टे बनाउनलाई तीनवटा क्षेत्रमा स्थान हेरे तापनि त्यो कुनै निश्चित नरहेको बताएका छन् । प्रबन्धक चौधरीलाई निलु राईको भाइरल अडियो विषयमा प्रश्न गर्दा आफुले जंगपानामा कुनै निलु राईलाई नचिनेको र हामीले कसैलाई घर खाली गर्ने नोटिस नदिएको बताए।


अर्कोतिर, जंगपाना चियाबारीको माथिल्लो गाउँका मानिसहरूले यहाँ रिसोर्ट बनाउन भनेर 8 वटा जति घर भत्काउने तर नयाँ घर बनाइदिने भनिएपछि गाउँलेहरुले यसको विरोध जनाएको बताएका छन्। यस विषयमा भाइरल अडियोकर्ता निलु राईले मीडिया समक्ष बोल्दै म विवाह भएर गए तापनि कागज पत्रहरू नसारेको र अहिले पनि भोट यतै हाल्दै आएको बताइन्। तिनले यहाँ 15 ऐकर जमीनमा रिसोर्ट बनाउने र घरहरू पनि भत्काउन पर्ने भनिएपछि विरोध जनाएको र गाउँलेहरु मिलेर आफ्नो पुस्तौंदेखि बस्दै आएका जमीन नदिने र घरहरू पनि भत्काउन नदिने बताइन् । तिनीसित रहेका अन्य महिलाहरू र गाउँलेहरूले पनि रिसोर्ट बनाउन घरहरू भत्काउन नदिने र नयाँ घर बनाई दिए पनि आफ्नो बारीहरू, पशु पालनको लागि रहेको जमीन नहुँदा पुन: सेटल हुनलाई धेरै असुविधा हुने र गाउँलेहरूले जमीन नदिने र रिसोर्ट बनाउन परे गाउँदेखि टाड़ा र घरहरू नभत्काई अनि खेल मैदान पनि नष्ट नगरी गाउँदेखि टाड़ा बनाउनु पर्ने माग गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *