कालेबुङ : जनजाति नानीहरूको निम्ति कालेबुङमा एक लव्य रेसिडेन्सियल स्कुल शुरू गर्नेबारे राज्यका मुख्यमन्त्रीले अनुमति दिएको कालेबुङका विधायक रूदेन सादा लेप्चाले जानकारी गराएका छन्। तिनले आज कालेबुङमा पत्रकार सम्मेलनको आयोजना गरेर बताएअनुसार कालेबुङ जिल्लाको चारकोलमा अगावै पारित गरिएको जनजाति नानीहरूको निम्ति स्थापना हुने एक लव्य स्कुलको भवन निर्माण कार्य अब चाँडै शुरू गरिनेछ। उक्त स्कुललाई सञ्चालन गर्नको निम्ति मुख्यमन्त्रीले हरियो सङ्केत दिएको विधायक लेप्चाले बताएका छन्। हाल स्कुल भवन निर्माण नभइसकेकोले गर्दा कुनै पनि किरायाको भवनमा अहिलेको लागि एक लव्य रेसिडेन्सियल पाठशाला सञ्चालन गरिनेछ। यसपछि आगामी वर्षदेखि चारकोलमा आफ्नै भवनको निर्माण पुरा भएपछि स्कुल सञ्चालन गरिने भएको छ। यो स्कुलमा जनजाति नानीहरूले अध्ययन गर्न सक्नेछन्। तिनले दिएको जानकारीअनुसार लेप्चा भाषाको जगेर्ना गर्न लेप्चा भाषालाई प्राथमिक कक्षाहरूमा पठन पाठन गरिनेछ। यसबाहेक लेप्चा बाहुल्य स्कुलहरूमा पनि यो शुरू गरिनेछ।
