झङ्कार मोडमा सडक दुर्घटनामा परेर दुई दाजु-भाइको मृत्यु

सिलगढी : सिलगढीको झङ्कार मोडमा दुर्घटनामा परेर दुई दाजु-भाइको मृत्यु भएको छ। मृतक दाजु-भाइ सिलगढीको 42 नम्बर वार्डको विवेकानन्द नगर निवासी 18 वर्षीय राहुल बर्मन र 19 वर्षीय जयन्त बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ राहुल र जयन्त बाइकमा सवार भएर साथीको जन्मदिन मनाउन सालुगढा जाने भनेर घरबाट निस्केका थिए। जन्मदिन मनाएर राति 10 बजी घर फर्किरहेको समय वर्द्धमान रोडको झङ्कार मोडमा बाइक अनियन्त्रित भएर निर्माणाधीन फ्लाई ओभरको पिलरमा ठोक्कियो। स्थानीय मानिसहरूले घटनाबारे थाहा पाएपछि पुलिसलाई खबर दिए। घटनाको खबर पाएर खालपाडा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। ती दुई दाजुभाइमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य एकजनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले आज दुवैजनाको शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। परिवारका सदस्यहरूले बताएअनुसार ती दुई दाजु-भाइ सालुगढामा साथीको जन्मदिन मनाउन गएका थिए। तर ती दुई दाजु-भाइ झङ्कार मोडमा कसरी पुग्यो भन्ने विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। खालपाडा आउटपोस्ट पुलिसले घटनाको जाँच सुरू गरेको छ। स्मरण रहोस्, 2018-मा झङ्कार मोडमा फ्लाई ओभरको काम शुरू भए तापनि हालसम्म यसको कार्य समाप्त भएको छैन। यसले गर्दा यहाँ समय-समयमा दुर्घटनाहरू हुने गर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *