जीएसटीओ-का 35 जना सदस्य गोजमुमो विनय खेमामा सामेल

मिरिक: जनमुक्ति सेकेण्डरी शिक्षक संघ (जीएसटीओ)-का 35 जनाले गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापालाई मिरिकमा भेट गरेर गोजमुमो विनय खेमामा सामेल भएका छन्। सामेल हुनेहरूमा दार्जिलिङ जिल्लाका को-अर्डिनेटर रवीन्द्रकालेबुङ जिल्लाका कन्भेनर अमित अनि अन्य सामेल छन्। यस सम्बन्धमा अनित थापाले भने, उहाँहरूले जीएसटीओ-मा बसेर केही हुँदैन भन्ने सोच बनाएर नै नयाँ सोच अनि नयाँ विचारको मोर्चामा सामेल भएका हुन्। उहाँहरू स्वयम् शिक्षक हुन्। उहाँहरू युवा हुनुहुन्छ। जोशले भरपुर हुनुहुन्छ। शिक्षकले के कस्तो समस्या भोग्दै आइरहेको छ भन्नेबारे तिनीहरूले जान्नु हुन्छ। पहाडमा शिक्षालाई अझ कसरी राम्रो बनाएर लैजान सकिन्छ त्यो विनय अनितको नेतृत्वले मात्र गर्नु सक्छ भन्ने सोचले गर्दा नै उहाँहरू हाम्रो पार्टीमा सामेल भएका हुन्। तिनले अझ भने, हामी उहाँहरूलाई हाम्रो शिक्षक संगठनको पदाधिकरीहरूसित विचार विमर्श गरेर दायित्व पनि दिनेछौँ। उहाँहरूले शिक्षा क्षेत्रमा गर्नु भएको अनुभवलाई दार्जिलिङ पहाडको शिक्षा क्षेत्रलाई अझै कसरी अघि बढाउनु सकिन्छ, त्यहाँ हामी प्रयोग गर्नेछौ। उहाँहरू हामीसँग जोडिनु भएको छ, यो हाम्रो निम्ति थप टेवा हो। उहाँहरूलाई धन्यवाद जनाउँदै जनताको पार्टी गोर्खा जनमुक्ति मोर्चा-मा स्वागत गर्दछु। विधानसभा चुनाउमा उहाँहरूले आ-आफ्नो समष्टिमा रहेर पार्टीलाई सहयोग गर्नेछन्। पहाड अब कसको हातमा जाँदैछ त्यो उहाँहरूले देख्नु भयो अनि सही समयमा सही निर्णय लिनु भयो। हामीलाई पनि उहाँहरूको निर्णयले थप टेवा पुग्छ अनि हाम्रो उम्मेदवारलाई पनि अवश्य सहयोग मिल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *