जीटीए-को अडिट गर्ने कुरालाई स्वागत, पहाडलाई अशान्त गर्ने प्रयास गरिरहेको छ : अनित थापा

खरसाङ: पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखडले जीटीए-मा धाँधली भएको साथै यसको अडिट गराउनु पर्छ भन्नेबारे लगाएको आरोपबारे पूर्व जीटीए अध्यक्ष अनित थापाले प्रतिक्रिया व्यक्त गरेका छन्। तिनले यसबारे भने, जीटीए-को अडिट गर्ने कुरालाई स्वागत जनाउँछु, यो अति नै जरुरी छ। अडिटको कुरा पहिला पनि भएको हो। जीटीएमा आन्तरिक अडिट भइरहेकै छ, जहाँसम्म मेरो जानकारी छ। जीटीए-मा कस्तो किसिमको काम भइरहेको छ, त्यो सबैलाई राम्ररी जानकारी भएको विषय हो। राज्यपाल पहाड आउँदा पहाडको हितको काम गरेर जानु पर्छ। तर राजनैतिक सोंच राखेर आएर मात्र हुँदैन। महामहिम राज्यपालको भ्रमण अनि बयानले शान्त पहाडलाई उत्तेजित गर्ने, आन्दोलनको माहौल तयार गर्ने काम भएको आफुले महसुस गरिरहेको तिनले दावी गरे। दार्जिलिङ पहाड अशान्त थियो। त्यो अशान्तिलाई शान्तिमा ल्याउने कार्य हामीले सबै एक साथ लागेर गर्यौ। भविष्यमा पनि हामी दार्जिलिङ पहाडलाई शान्तिमय राख्न चाहन्छौ। कुनै पनि परिस्थितिमा दार्जिलिङ पहाड अब अशान्त नहुने तिनले बताए। तिनले दार्जिलिङ पहाडवासीलाई निवेदन गर्दै हामी विगत दिनमा धेरै झुक्कियौहामीलाई उँचालेर हाम्रो पहाडलाई अशान्त पार्न धेरै खोज्यो। अब जो कोही पनि जस्तो सुकै विचार लिएर पहाड आउँछ, कसैको उत्तेजना गर्ने विचार तर्फ नलागेर हाम्रो पहाडलाई राम्रो पहाड बनाउनु तर्फ लाग्नु पर्छ भनी बताएका छन्। तिनले अझ भने, चुनाउमा हार जीत हुन्छ नै। त्यसलाई स्वीकार गरेर पहाड कै निम्ति हामी काम गर्नुपर्छ। हामी प्रयास गरिरहेका छौ। उत्तर बङ्गाललाई विभाजन गर्ने भाजपाका सांसदको बयानबारे सोधिएको प्रश्नको जवाबमा अनित थापाले केही प्रतिक्रिया व्यक्त गर्न चाहेनन् तर तिनले यो राज्य अनि केन्द्रको विषय हो भने। तिनले जीटीए मार्फत गत 2017 देखि दार्जिलिङ पहाडको धेरै विकास कार्यहरू भइरहेको साथै भविष्यमा पनि यस्तै विकासको अपेक्षा साँचेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *