जीटीएमा 70 प्रतिशत पैसा खाएर 30 प्रतिशत मात्र काम भएको रोशन गिरीको आरोप

खरसाङ: लगभग तीन वर्षपछि महासिचव रोशन गिरी र विस्थापित युवा मोर्चा केन्द्रीय सल्लाहकार दिपेन मालेको विशेष उपस्थितिमा आज खरसाङको मोटर स्ट्याण्डमा बिमलपन्थी गोजमुमोको विराट जनसभा सम्पन्न भयो। यस जनसभा गोजमुमो केन्द्रीय सदस्य शरण देवानको अध्यक्षता र युवा मोर्चाका केन्द्रीय सदस्य विकास खवासको सञ्चालनमा सम्पन्न भयो। जनसभालाई सम्बोधन गर्दै बिमलपन्थी गोजमुमोको महासचिव रोशन गिरीले राज्यसित मित्रता गर्दा हाम्रो स्थायी राजनैतिक समाधान राज्यभित्र नै हुने सम्भव रैछ भन्दै हाम्रो त्रिपक्षीय वार्ता भएन केवल द्विपक्षीय वार्ता मात्रा भयो। गत 7 अक्टोबरको वार्ता केवल गृह मन्त्रालय र गोजमुमोमाझ मात्र द्विपक्षीय रूपमा भयो किनभने भाजपाको राज्य समितिले त्रिपक्षीय वार्ताको बाधा गरेकोले त्यो सभाको कुनै निष्कर्ष आएन भनी बताए। तिनले अझ भने, त्यहीँ परिस्थितिमा हामीले भाजपालाई छोडेका हौँ तर गोर्खाल्याण्डको मागलाई तिलाञ्जलि दिएका छैनौं कारण हामीले सन् 2007 मा पार्टीको गठन गर्दा हामीले हाम्रो पार्टीको संविधानमा गोर्खाल्याण्डको माग राखेका छौं जुन भारत सरकारको चुनाउ आयोगमा पञ्जीकृत छ। त्यसैले गोर्खाल्याण्डको मागदेखि पर सरेका छैनौं तर 2021 को राज्य विधानसभाको चुनाउमा हाम्रो राजनैतिक टेक अनुसार भाजपालाई होइन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई तेस्रो पटक राज्यको मुख्यमन्त्री भएको हेर्न चाहान्छौं भनी तिनले बताए। राज्यसित मिल्नु हाम्रो पार्टी अध्यक्ष बिमल गुरुङले विस्थापितहरूको पक्षमा, तराई डुवर्सका जनताको पक्षमा लिएको निर्णय हो भनी गिरीले दावी गरे। यो निर्णय गोर्खाल्याण्ड बेचेर लिएको निर्णय होइन, अध्यक्ष बिमल गुरुङले गत 21 अक्टोबरको दिन कोलकातामा स्पष्ट रूपमा भनिसकेका छन् कि 2021-को चुनाउमा जसले गोर्खाल्याण्डको मुद्दालाई सहयोग गर्छ हामी त्यही पार्टीलाई सघाउनेछौं।


आज पहाड़मा अनित र विनय मिलेर हामीलाई यातना दिने काम गरेको छ जुन हामीले भुलेको छैनौं। महासचिव रोशन गिरीले जीटीएमा 70 प्रतिशत पैसा खाएर 30 प्रतिशत मात्र काम भएको आरोप लगाउँदै यसको हिसाब किताब हुनुपर्छ भन्दै हाल जीटीएमा शिक्षक नियुक्तिमा पनि धेरै भ्रष्टाचार भएको आरोप लगाएका छन्। रोशन गिरीले हामीले लिएको निर्णय वृहत हो, राजनैतिक टेक हो, तर भाजपाले हामीलाई छक्काउँदै, झुक्काउँदै ल्यायो र अब हामीले भाजपाको साथ छोड़ेको बताए। तिनले अब भाजपालाई कसैले साथ नदिनु र सदस्यता पनि नलिनु भनी सुझाउ पनि राखे। भाजपाले हाम्रो 15 वर्षको उमेर खाएको बताउँदै अब आगामी 6 दिसम्बरको दिन गोजमुमो अध्यक्ष बिमल गुरुङ र विस्थापितहरूलाई सिलगढ़ीमा स्वागत गर्नलाई आइदिने सबैलाई आह्वान गरे। जनसभालाई सम्बोधन गर्ने क्रममा युवा मोर्चा नेता दिपेन मालेले वर्तमान जीटीए चेयरम्यानको खोइरो खन्दै कोभिडमा आएको पैसा खोईश्रमिकहरूको लागि सङ्कलन गरेको पैसा खोई भन्दै प्रश्न तेर्स्याए। तिनले खरसाङ तपाईँको होइन तपाईँ चै खरसाङको हो भनी बताउँदै खरसाङ तपाईको भाको भए आजको जनसभामा यति धेरै समर्थकहरूको भीड़ हुने थिएन भनी बताए। आफूहरूले ढुङ्गाको सिरानी लगाएर आकाशको छानामा सुतेर विस्थापित जीवन बिताएको बताउँदै मालेले यो सबै हामीले जाति र माटोको लागि बलिदान दिएको र हामीले हाम्रो महत्वपूर्ण उमेर जातिको लागि दिएको भनी बताए। तिनले हामी गोजमुमो अध्यक्ष बिमल गुरुङको साथमा हाम्रै आँगनमा आएर जातिको उन्मुक्तिको लागि अघि आएको बताउँदै जातिको लागि आफूहरूले शरीर दिएको पनि बताए। आजको जनसभालाई युवा मोर्चाका केन्द्रीय कार्यकारी सभापति नोवन राई, युवा मोर्चाका अमृत प्रधान, गोजमुमो खरसाङ महकुमा समितिको सभापति प्रदीप मंगर, केन्द्रीय संस्थापक सदस्य बिजय सुन्दास, पूर्व सभासद सभासद योगेन्द्र राई, डीटीडीपीएलयुको केन्द्रीय महासचिव सुरज सुब्बा आदिले पनि सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *