जङ्क्सन इलाकाबाट महिलाको खुनले लतपत अवस्थामा शव उद्धार

सिलगढी : प्रधाननगर थाना पुलिसले आज जङ्क्सन ट्राफिक पोइन्टदेखि केही टाढामा सडक किनारमा अज्ञात महिलाको खुनमा लतपत अवस्थामा शव उद्धार गरेको छ। उक्त मृतक महिलाको हालसम्म परिचय जुटाउन सकिएको छैन। प्राप्त जानकारी अनुसार आज भुकभुके उज्यालोमा जङ्क्सन ट्राफिक पोइन्टदेखि केही टाढामा सडक किनारमा खुनले लतपत भएको अवस्थामा अज्ञात महिलाको शव उद्धार भएको छ। घटनाको खबर पाएर प्रधान नगर पुलिस घटनास्थलमा पुगेर महिलाको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज पठाएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार मृतक महिला जङ्क्सनस्थित एउटा होटल नजिकको खाली बिल्डिङको पछिल्तिर बस्थिन्। उक्त ठाउँमा पुलिसले रगत भेट्टाएकोले सम्भवतः उक्त महिलाको पहिला हत्यारासित हातापाई भएको साथै तिनलाई धारिलो हतियारले प्रहार गरेपछि त्यहाँबाट आफ्नो प्राण बचाउन भागेपछि सडकमा पुगेर लडेर तिनको मृत्यु भएको प्राथमिक अनुमान लगाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ भने वेस्ट जोनका एसीपी चिन्मय मित्तलले पनि घटनास्थलमा पुगेर छानबीन गर्नको साथै सीसीटीभी फुटेज सङ्ग्रह गर्ने निर्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *