कैलापानी निवासी प्रवीण राईको घर पैह्रोको चपेटमा

खरसाङ: खरसाङको मकैबारी चियाकमान अन्तर्गत कैलापानी गाउँ निवासी प्रवीण राईको घर पैह्रोको चपेटमा परेको छ। गत बिहिबार बिहान लगभग तीन बजीतिर घरमाथिबाट गएको पैह्रोले तिनको घरलाई क्षतिग्रस्त पारिदिएको छ भने घरभित्र सुतिरहेका प्रवीण राई अनि तिनकी पत्नी भाग्यले बाँचे। पीडित प्रवीण राईले गत बिहिबार बिहान तिनको घरमाथि पैह्रो गएर घरलाई क्षतिग्रस्त पारेको बताउँदै त्यस समय तिनीहरू घरभित्र सुतिरहेका थिए। गत वर्ष पनि यसरी नै पैह्रो गएको थियो भन्दै राईले यस ठाउँमा पैह्रोको कारण तिनीहरू बस्न नहुने भएपछि बगान पक्षलाई घर बनाउनको लागि जग्गा माग्दा बगान पक्षले हालसम्म जग्गानै नदिएको गुनासो पोखे। तिनले गत वर्ष आफ्नै अम्लिसो बारीमा घर बनाएको भए तापनि बगान पक्षबाट तिनलाई पर्जापट्टाको कुरा गर्दै बनाइ सकेको घर पनि भत्काउन लगाएपछि तिनीहरू हाल बसेको ठाउँमा आएर घर बनाएर बसेको हो। यस ठाउँमा पनि पटक-पटक पैह्रो जाने हुनाले यहाँबाट आफूहरू चाँड़ै स्थानन्तरण हुनुपर्ने अन्यथा यस पैह्रोले ज्यानमालको क्षति हुने सम्भावना रहेको तिनले बताए। तिनले सम्बन्धित विभाग अनि चियाबगान प्रबन्धक पक्षको ध्यान आर्कषण गराउँदै घर बनाउनको लागि सुरक्षित स्थान उपलब्ध गराइदिने आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *