कालचिनी खण्डको भाजपाका दुईजना पञ्चायत सदस्य तृणमूल कङ्ग्रेसमा सामेल

कालचिनी: कालचिनीमा भाजपा छोडेर सत्तारूढ़ तृणमूलमा सामेल हुने क्रम चलिरहेको बीच कालचिनी खण्डको चुवापाड़ा ग्राम पञ्चायतका दुईजना भाजपा निर्वाचित पञ्चायत सदस्यहरु क्रमैले मिला खड़िया र कुणाल लामाले पार्टी त्यागेर तृणमूलमा सामेल भएका छन्। अलिपुरद्वार जिल्ला तृणमूल कार्यालयमा पुगेर तिनीहरूले तृणमूलको झण्डा समाते। यस अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति मृदुल गोस्वामी लगायत तृणमूल अलिपुरद्वार जिल्ला को-अर्डिनेटर तथा पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामा तृणमूल नेता सञ्जीव धर लगायत अन्य तृणमूल नेताहरुको उपस्थिति रहेको थियो। भाजपा छोड़ेर तृणमूलमा सामेल भएकोबारे स्पष्टीकरण दिँदै दुवै पञ्चायत सदस्य कुणाल लामा र मिला खड़ियाले भाजपामा बसेर आफ्नो क्षेत्रको विकास कार्य गर्न नसक्ने र अब भाजपाको जनाधार नरहेको एवम् मुख्यमन्त्री ममता ब्यानर्जीको विकासमूलक कार्यहरुले आकर्षित भएर तृणमूलमा सामेल भएको जनाएका छन्। उक्त योगदान कार्यक्रममा पत्रकारहरुसित कुराकानी गर्दै तृणमूल अलिपुरद्वार जिल्ला सभापति मृदुल गोस्वामीले भाजपाको सत्यता अब मानिसहरुले थाहा पाएको र भाजपाले साम्प्रदायिक सौहार्द बिगार्न एवम् विभाजनको राजनीति बाहेक विकासको कार्य गर्न नसकेको बताए। देशमा भाजपा फ्लप हुन थालेको र बङ्गाल विधानसभा चुनाउमा नराम्रो हार खाएपछि अब भाजपाले नौटङ्की राजनीति गरिरहेको र तृणमूललाई आधारहीन आरोप लगाएर नयाँ नाटक रच्न थालेको तिनले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *