कालेबुङ : कोरोना भाइरसको बढ्दो मामिलालाई ध्यानमा राखेर पुलिस प्रशासनले कालेबुङ बजारको डम्बर चोकमा आज बिहानैदेखि विशेष गरेर मास्क नलगाई हिँड्डुल गरिरहेका मानिसहरूप्रति गिद्धे नजर राखिरहेको छ। सहरमा मास्क नलगाई आएका कतिपय मानिसहरूलाई कोरोनालाई लिएर सरकारद्वारा जारी नयाँ निर्देशिकाबारे अवगत गराउनको साथै तिनीहरूलाई मास्क पनि वितरण गरिरहेको छ। यसको साथै पुलिसले मानिसहरूलाई कोरोनाको बढ्दो संक्रमणबारे सचेतनता गराइरहेको छ।

यसबाहेक राज्यमा कोरोनाको बढ्दो संख्यालाई ध्यानमा राखेर राज्य सरकारद्वारा हिजो 3 जनवरीदेखि लागू गरिएको आंशिक लकडाउनलाई लिएर पनि मानिसहरूलाई पुलिसले सचेतना गराइरहेको छ। यसैगरी, रातिको समयमा अति आवश्यकबाहेक वाहनहरूको चलाचल बन्द गरिएको विषयमा पनि वाहन चालकहरूलाई अवगत गराउनको साथै कोरोनालाई लिएर कुनै प्रकारको खेलाइँची नगरेर सबैलाई अनिवार्य रूपमा मास्क लगाइदिने पुलिस प्रशासनको पक्षबाट अपील गरियो।
