कालेबुङ जिल्लाबाट गोजमुमो विमल र विनय खेमाकाहरू तृणमूल कांग्रेसमा सामेल

सिलगढी : पहाडको गोजमुमो (विमल खेमा) तथा गोजमुमो विनय खेमाका कतिपय सदस्यहरूले आज सिलगढीस्थित तृणमूल कांग्रेस पार्टी कार्यालयमा सम्पन्न सभामा तृणमूल कांग्रेसलाई समर्थन जनाए। यस अवसरमा हिल तृणमूल कांग्रेस नेत्री तथा राज्यसभा सांसद शान्ता छेत्री, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार, महासचिव मदन भट्टाचार्य, छेवाङ भुटिया लगायत अन्य पार्टीका वरिष्ठ नेतृत्वहरू उपस्थित थिए। आज गोजमुमो त्यागेर तृणमूल कांग्रेसमा सामेल हुनेहरूमा कालेबुङ जिल्लाको 40 नम्बर समष्टि अन्तर्गत गोजमुमो विमल खेमाका महासचिव पाल्देन भुटिया, विनय खेमाका केन्द्रीय सदस्य लेन्डुप दोर्जी भुटिया, रीता प्रधान लगायत 36 नम्बर समष्टिबाट 30 परिवार अनि पेदुङबाट केही परिवारहरूले आफ्नो पार्टी त्यागेर तृणमूल कांग्रेसमा सामेल भएका छन्।


पार्टी सूत्रले दिएको जानकारीअनुसार उक्त पार्टीमा समर्थन कार्यक्रम गोरूबथानमा गरिने पूर्व निर्धारित कार्यक्रम रहे तापनि कतिपय कारणवश आज सिलगढीमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका शीर्ष नेताहरूको उपस्थितिमा गरिएको बताइएको छ। आज तृणमूलमा सामेल हुने नयाँ पार्टी कार्यकर्ताहरूलाई स्वागत जनाउँदै झण्डा प्रदान गरियो भने तृणमूल पार्टीको विभिन्न नारा पनि लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *