कालेबुङ जिल्लामा जवाहर नवोदय विद्यालय स्थापना गर्ने प्रक्रिया शुरू: राजु विष्ट

सिलगढी: केन्द्रीय सरकारले कालेबुङ जिल्लामा जवाहर नवोदय विद्यालय  (जेएनभी)  स्थापना गर्ने प्रक्रिया शुरु गरेको खबर दार्जिलिङका सांसद राजु विष्टले साझा गरेका छन्। तिनले जारी विज्ञप्तिमा बताए अनुसार यस सम्बन्धमा पेदोङ, कागे, लिङसे, लिङ्सेखा नागरिक समाजबाट एउटा विनती-पत्र पाएपछि तिनले यसै वर्ष जून महिनामा शिक्षा मन्त्री धर्मेन्द्र प्रधान समक्ष यो विषय उठाएका थिए। सांसद विष्टले मन्त्री धर्मेन्द्र प्रधानलाई जानकारी गराउँदै दार्जिलिङ जिल्लालाई टुक्र्याएर कालेबुङ जिल्ला बनाइएको अनि 14 फरवरी 2017 मा एउटा छुट्टै प्रशासनिक एकाईमा रूपान्तरित गरिएको कुरा सांसद विष्टले अवगत गराएका थिए। यसको साथै तिनले मिरिकको छब्बिसेमा वर्तमान जेएनभी स्कुल दार्जिलिङ जिल्ला अन्तर्गत पर्दछ अनि पहाड़ी क्षेत्रको कठिन भौगोलिक बनौटको कारण यो स्कुलले दुई जिल्लाका आवश्यकताहरूको पूर्ति गर्न सकिरहेको छैन भन्ने जानकारी गराएका थिए। तिनले कालेबुङका धेरैजस्ता जनता जीवन धान्नका लागि कृषि तथा कृषिजन्य अन्य गतिविधिहरूमाथि आश्रित छन् जसको कारण बहुसंख्यक नानीहरूले महँङ्गो निजी स्कूलहरूमा पढ़ाई गर्न सक्दैनन् भनी मन्त्रीलाई जनाएका थिए।


यसैगरी, पश्चिम बङ्गाल सरकार अनि जीटीए सञ्चालित सरकारी स्कूलहरू अपर्याप्त पूर्वाधार अनि शिक्षकहरूको कमीका कारण दयनीय हालतमा छन् र विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित रहेको पनि जनाउँदै कालेबुङ जिल्लाका नानीहरूलाई निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने जेएनभी स्कुलहरू अन्तर्गत शिक्षार्जन गर्ने मौका दिने अनुरोध सांसद विष्टले गरेका थिए भनी बताएका छन्। यसैले गर्दा, शिक्षा राज्यमन्त्री सुश्री अन्नपूर्ण देवीले पठाएको एउटा पत्र दार्जिलिङका सांसद विष्टलाई प्राप्त भएको कुरा तिनले दावी गरेका छन्। उक्त पत्रमा 31.05.2014 पछि कभर नभएका जिल्लाहरूमा जेएनभीहरू खोल्ने प्रक्रिया शुरु गरिँदैछ र यसमा पश्चिम बङ्गालको कालेबुङ जिल्ला पनि समावेश गरिएको छ  भनी जानकारी दिएको छ। जेएनभी कालेबुङ पूर्णतया स्थापित भएपछि यो क्षेत्रमा सर्वोत्तम विद्यालयहरू मध्ये एक बन्ने कुरामा आफु आश्वस्त रहेको सांसद विष्टले जनाएका छन्। यसको साथै भाजपाले दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका जनतासँग गरेका सबै वाचाहरू पूरा गर्ने सुनिश्चित गर्नेछ भन्ने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *