कालेबुङ मेला ग्राउण्डको दुर्घटनालाई लिएर मुख्यमन्त्रीलाई सांसद राजु विष्टद्वारा पत्राचार

कालेबुङ : कालेबुङको मेला ग्राउण्डमा हिजो साँझमा आयोजित साङ्गीतिक कार्यक्रममा भएको दुर्घटनालाई लिएर स्थानीय मानिसहरू लगायत विभिन्न तह-तप्का तथा राजनैतिक दलहरूले दुख प्रकट गर्दै प्रशासनमाथि औँली उठाएका छन्। उक्त दुर्घटना हुनमा विशेष गरेर कालेबुङ पुलिस प्रशासनको लापर्वाही रहेको आरोप समेत धेरैले लगाएका छन्। स्मरण रहोस्, हिजो साँझ कालेबुङको मेला ग्राउण्डमा म्याड डग नाम गरेको एउटा संस्थाले नेपालका चर्चित कलाकार आशिष राणा उर्फ् लाहुरेलाई ल्याएर एउटा भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गरेको थियो। तर उक्त कार्यक्रम अवधि मूल गेटमा अधिक भीड हुँदा ठेलाठेल मच्चिएपछि लडेर भीडले कुल्चिँदा एकजना महिलाको मृत्यु भएको थियो भने पछि लगभग 10 बजीको समय अर्को एकजना महिलाको पनि मृत्यु भएपछि उक्त घटनामा मर्नेहरूको संख्या 2 पुगेको छ। यसको साथै उक्त दुर्घटनामा 4 जना घाइते भएका थिए। तिनीहरूको हाल सिलगढीको निजी अस्पतालमा उपचार चलिरहेको छ।


       

अर्कोतिर, हिजोको उक्त साङ्गीतिक कार्यक्रम अवधि भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको तथा अन्य घाइते भएकोमा दार्जिलिङका सांसद राजु विष्टले दुख प्रकट गर्दै उक्त दुर्घटना हुनमा कालेबुङको पुलिस प्रशासनको पनि केही दोष रहेको बताएका छन्। सांसद विष्टले उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएकोमा कालेबुङ प्रशासन दायी रहेको साथै उक्त घटनाको निष्पक्ष जाँच गरिनुपर्ने बारे राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई आज एउटा पत्राचार गरेका छन्। यसको साथै उक्त घटनामा घाइते तथा मृतक परिवारलाई राज्य सरकारको तर्फबाट आर्थिक सहयोग दिनुपर्ने माग पनि गरेका छन्। अर्कोतिर, कालेबुङका पुलिस अधिकारीले बताएअनुसार हिजो साँझ कालेबुङ मेला ग्राउण्डमा घटेको उक्त दुर्घटनामा दुईजना महिला क्रमैले कालेबुङ चन्द्रलोक वार्निङ गोलाई निवासी 46 वर्षीय अनिता छेत्री र चन्द्रलोक निवासी 39 वर्षीय बनिता गुरूङको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएकाहरूको हाल सिलगढीमा उपचार चलिरहेको छ। यसको  साथै साङ्गीतिक कार्यक्रमको आयोजक पक्षको विरुद्ध अभियोग दर्ता गरिएको बताइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *