कालेबुङ प्रेस कलब भवनको होम्स भालुखोप समष्टिका सभासद विकास राईको बाहुलीबाट शिलान्यास

कालेबुङ: कालेबुङ प्रेस कलब भवनको आज एउटा कार्यक्रमबीच जीटीएको 34 नम्बर होम्स भालुखोप समष्टिका सभासद विकास राईको बाहुलीबाट शिलान्यास गरियो। आज खिष्ट्रिय परम्परा अनुसार युसीएनआई चर्चका पास्टर अनि हिन्दु परम्परा अनुसार पण्डितद्वारा प्रार्थना एवम् पूजा गरेपछि सभासद विकास राईको बाहुलीबाट भवनको शिलान्यास गरियो। यस अवसरमा कालेबङ प्रेस क्लबका अध्यक्ष अरूण कुमार राई, सचिव प्रज्ज्वल छेत्री, उपाध्यक्ष रूद्र कार्की, प्रमुख सल्लाहकार अरूण कुमार रसाइली आदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सभासद राईले यसबारे जानकारी गराउँदै प्रेस क्लब भवन सबैको साझा सम्पत्ति रहेकोले यसको काम गुणस्तरीय रूपमा हुने बताएका छन्। अर्कोतिर, कालेबुङ प्रेस क्लबका सचिव प्रज्ज्वल छेत्री उक्त भवन निर्माणले कालेबुङका पत्रकारहरूले भोग्दै आइरहेको कार्यालयको अभावको आवश्यकता धेरै हदसम्म पूरा हुने बताए। यसको साथै तिनले जीटीए प्रमुख कार्यपाल अनित थापा, विधायक रुदेन लेप्चा, सभासद विकास राई अनि कालेबुङ इञ्जिनियरिङ विभागप्रति आभार प्रकट गरेका छन्।


स्मरण रहोस, कालेबुङका पत्रकारहरूले भवनको अभावमा वर्षौंदेखि समस्या भोग्दै आइरहेका थिए। फलस्वरूप यूसीएनआई अनि सीएनआई चर्चले यहाँको मल्ली रोडमा जमीन उपलब्ध गराएपछि तत्कालीन सांसद जसवन्त सिंह अनि समन पाठकको सांसद कोषद्वारा एकतलाको भवन निर्माण भएको थियो। तर कतिपय असुविधाले गर्दा कार्यालय सुचारू रूपमा सञ्चालन हुन सकेको थिएन। यसैले कालेबुङ प्रेस क्लबको निवेदनलाई स्वीकार गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले भवनको माथिल्लो तला निर्माणको लागि 22 लाख 28 हजार 6 सय 33 रुपियाँ अनुमोदन गरिदिएको बताइएको छ।  उक्त भवनको निर्माण बिपिन प्रधान एजेन्सीले गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *