काली पुजा अवधि सहरका वृद्ध मानिसहरूको निम्ति पुलिसद्वारा ‘सम्मान परियोजना’ लागू गरिने

सिलगढी : गत दुर्गा पुजामा झैँ आउँदो काली पुजामा पनि सिलगढी मेट्रोपलिटन कमिश्नर गौरव शर्माको नेतृत्वमा एउटा नयाँ परियोजनाको शुरूआत गरिने भएको छ। उक्त योजनाअनुसार सहरका वृद्ध दम्पति तथा एक्लै घुम्न आएको व्यक्तिलाई पुलिसको तर्फबाट विशेष सुरक्षा तथा हेरचाह गरिने जिम्मेवारी लिइने भएको छ। सहरका वृद्ध-वृद्धाहरूलाई सुरक्षा तथा तिनीहरूको उचित हेरचाह हुनसकोस् भन्ने उद्देश्य लिएर उक्त सम्मान परियोजना शुरू गरिने बताइएको छ। आज काली पुजालाई लिएर सिलगढीको वर्द्धमान रोडस्थित एउटा भवनमा पुलिसको तर्फबाट समीक्षा बैठकको आयोजना गरियो। जसमा पुजा कमिटीका उपस्थित प्रतिनिधिहरूलाई काली पुजा अवधि अप्नाउनुपर्ने सर्तकता तथा नियम-कानुनबारे कमिश्नर गौरव शर्माले विस्तृत जानकारी गराए। तिनले बताएअनुसार काली पुजा अवधि पनि सहरका महिलाहरूको सुरक्षाको निम्ति एउटा महिला टोली सहरको विभिन्न ठाउँहरूमा तैनाथ गरिनेछ। पुजा अवधि पुलिसबाहेक डीडी साथै एसओजीको टीम पनि पूर्ण रूपले तैनाथ गरिने भएको छ। पुजा अवधि प्रतिबन्धित पटेकाहरूमाथि पुलिसले विशेष नजर राख्ने भएको छ। गौरव शर्माले हस्पिटल साथै यसको छेउछाउमा रहेको इलाकामा ग्रीन पटेका समेत नपड्काइदिने सहरवासीसित अपील गरेका छन्। यसपल्ट सिलगढी मेट्रोपलिटनको 6 वटा थाना अन्तर्गत मोठ 318 वटा पुजाको आयोजना गरिने भएको छ। काली पुजा अवधि मेट्रोपलिटनको ट्राफिक विभागले 4,5,6 र 7 नोभेम्बर ट्राफिक रूटहरूमा केही बदलाव गरिने जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *