कमानका प्रबन्धकहरूले सुइँकुच्चा ठोकेपछि रंगमुक सिडर्स चियाबारीका श्रमिकहरू बिल्लीबाठ

सोनादा (निसं) : बन्सल कम्पनी अधीनस्थ रहेको पहाडका चियाबारीहरूको प्रबन्धकहरू गत अबेर राति नै कमान छोड़ेर भागेपछि चिया श्रमिकहरू बिल्लीबाठ भएका छन्। यसै क्रममा बन्सल कम्पनी अधीनस्थ रहेको रंगमुक सिडर्स चियाबारीमा पनि प्रबन्धकहरू कमान छोडेर भागेका छन्। श्रमिकहरुलाई बोनस वितरण गरिनु पर्नेमा राति नै प्रबन्धकहरूले सुइँकुच्चा ठोकेपछि दसैको मुखैमा चियाबारीका श्रमिकहरू बिचल्नीमा परेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ तराई डुवर्स चिया कमान मजदुर युनियनको केन्द्रीय सदस्य भुपेन छेत्रीले रंगमुक सिडर्स चियाबारीका प्रबन्धकहरू बिना सूचना भागेर गएपछि यहाँका श्रमिकहरूको लागि ठूलो कुठराघात भएको छ भनी बताएका छन्। तिनले भने, श्रमिकहरूले दसैंको मुखैमा बोनस पाउँछ भनेर आशा गरेको बेला अचानक मालिकवर्गले प्रबन्धकहरूलाई भगाएको छ। अब हामी मालिक पक्षले जसरी भए पनि दसैं अघि श्रमिकहरूलाई बोनस वितरण गरिएको हुनुपर्छ भन्ने माग गर्दछौ। त्यसरी नै अर्का केन्द्रीय समिति सल्लाहकार सन्तकुमार राईले पत्रकारहरूलाई सम्बोधन गर्दै प्रबन्धकहरूले अचानक कमानमा तालाबन्दी गरेर भागेपछि दसैंको मुखैमा हामी सबै दु:खित छौं भनी बताए। तिनले भने, प्रबन्धकहरूले यसरी अचानक कमानमा तालाबन्दी गरेपछि हामी अन्यौलमा छौं र अचम्भित पनि छौं। तर अब मालिक पक्षले जसरी भए पनि दसैं अघि नै श्रमिकहरुलाई बोनस वितरण गरिनुपर्छ भन्ने हाम्रो माग छ। मालिक पक्षले बन्द गरेको भए कुनै नोटिस हुनु पर्ने हो तर कुनै सूचनाबिना नै कमान तालाबन्दी भएको छ भने श्रमिकहरूले आज कमानमा पत्ती टिपाईको काम नगरेर कमानको सर-सफाई गर्ने कार्य गरे। यसैगरी,पत्रकारहरूलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियनको केन्द्रीय सदस्य रतन छेत्रीले मालिकवर्गले कुनै सूचनाबिनै तालाबन्दी गरेको छ र यस विषयमा हामी डीएम-लाई भेट्न जानेछौं भन्दै मालिकपक्षले कुनै सूचनाबिना नै तालाबन्दी गरे तापनि कमानमा काम भने जारी रहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *