कञ्चनजङ्घा फुटबल क्लब सुकुनाका खेलाडीहरूको निम्ति ट्र्याक सुट सार्वजनिक

सिलगढी: सिलगढी सुकुनाको चर्चित फुटबल क्लब केएफसी (कञ्चनजङ्घा फुटबल क्लब) का खेलाडीहरूको निम्ति तयार गरिएको ट्र्याक सुट क्लबका शीर्ष पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक गरियो। केएफसी-का खेलाडीहरूको हाल सुकुनास्थित खेल मैदानमा दैनिक अभ्यास जारी रहेको छ भने हाल सिनियर र जुनियरवर्ग गरेर लगभग 45 जना साना-ठूला फुटबल खेलाडीहरू यस क्लबसित आवद्ध रहेको क्लबकै कार्यकारी अध्यक्ष सुरेन प्रधानले जानकारी दिएका छन्। तिनले बताए अनुसार कुनै स्पोन्सर बिना नै यतिका दिनसम्म क्लबका सबै खेलाडीहरुलाई प्याट्रनहरूको सहयोगमा ट्रेनिङ दिने कार्य भइरहेको छ। ती खेलाडीहरूको राशनको व्यवस्था क्लबका चिफ प्याट्रन बिर्जु गर्ग र किशन गर्गले प्रदान गरिरहेका छन्। क्लबका प्याट्रनहरू मध्ये एक प्रमुख हाल हङकङमा कार्यरत्, पूर्व अन्तर्राष्ट्रिय खेलाडी साम्देन लामाले क्लबको निम्ति आर्थिक सहयोग गर्दै आइरहेका छन्। यस वर्ष केएफसी क्लबको ट्र्याक सुट पनि तिनले नै स्पोनसर गरेको बताइएको छ। एउटा सानो कार्यक्रमबीच सुकुना खेल मैदानमा नै क्लबका अध्यक्ष गोपाल लामा, क्लबका प्याट्रन बिनोद राई (पोख्रेबुङ बजार)-को बाहुलीबाट क्लबका खेलाडीहरूको ट्रयाक सुट सार्वजनिक गरियो। उक्त कार्यक्रममा क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधान, सह-सचिव बिजय लिम्बु, चिफ कोच दिनकर छेत्री, क्लबका प्याट्रन सञ्जय छेत्री, सहायक कोच अदिप राई आदि उपस्थित थिए। यस अवसरमा क्लबका अध्यक्ष गोपाल लामाले आफ्नो छोटो सम्बोधनमा खेलाडीहरुलाई मन लगाएर ट्रेनिङ गर्ने अपिल गरे भने क्लबका प्याट्रन बिनोद राईले खेलाडीहरूलाई अनुशासनमा रहेर दैनिक अभ्यासमा फोकस गरे असम्भव भन्ने केही नरहेको बताए। तिनले नेपोलियन बोनापार्टको उदाहरण प्रस्तुत गर्दै खेलाडीहरुलाई खेलप्रति अझ अधिक ध्यान दिनेबारे प्रोत्साहन गरे। अर्कोतिर, क्लबको पक्षबाट कार्यकारी अध्यक्ष सुरेन प्रधानले ट्र्याक सुटका प्रायोजक पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी साम्देन लामालाई मुरी मुरी धन्यवाद दिए। आगामी 12 फरवरीको दिन क्लबका सबै प्याट्रनहरूलाई लिएर भेटघाट गरिने साथै कतिपय निष्क्रिय मेम्बरहरु बारे चर्चा गर्दै नयाँ प्याट्रनहरुलाई स्वागत जनाइने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *