करतोआ पुल बन्द रहेकोले वैकल्पिक व्यवस्था गरिदिने माग गर्दै स्थानीय मानिसहरूद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

राजगञ्ज : गजलडोबा जाने सडकको करतोआ पुलमा फाँटो देखापरेपछि उक्त पुल भएर आवाजाही बन्द गरिदिएकोले यातायातको लागि यसको वैकल्पिक व्यवस्था गरिदिने माग गर्दै स्थानीय मानिसहरूले सडक अवरोध गरे। स्थानीय मानिसहरूले आज गजलडोबा फुलबारी क्यानल रोडको पारमुन्डा मोडमा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। सिलगढीबाट गजलडोबा जाँदा उक्त क्यानल रोड भएर जान पर्दछ। साहुडाङ्गी इलाकाको रेलवे ओभरब्रिजदेखि केही टाढा सिमुलगढी इलाकामा करतोआ नदीमाथि रहेको पुल बेहाल अवस्थामा रहेकोले गर्दा गत 18 दिसम्बरदेखि उक्त पुल भएर वाहनहरूको चलाचल बन्द गरिदिएकोले मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। प्रदर्शनकारीहरूको भनाइ अनुसार मान्तादारी ग्राम पञ्चायत तथा यसको छेउछाउको इलाकाका अधिकांश मानिसहरू सिलगढीमाथि निर्भरशील छन्। यहाँका केही मानिसहरूले सब्जी तथा माछा बिक्री गर्ने, केही मानिसहरूले दैनिक मजदुरीको काम गर्ने साथै अन्य विभिन्न कामले गर्दा प्रतिदिन सिलगढी जाने गर्दछन्। उक्त सडक बन्द भएकोले तिनीहरूलाई निक्कै समस्या भइरहेको छ। यसको साथै विद्यार्थीहरू लगायत रोगीहरूलाई अस्पताल लैजानमा धेरै असुविधा भइरहेको छ। आमबारी भएर सिलगढी जाने क्रममा धेरै लामो दूरीको यात्रा गर्नुपर्ने साथै आमबारी रेल गेटको कारण धेरै समयसम्म रोकेर बस्नुपर्दछ। यसैले गर्दा यसको वैकल्पिक व्यवस्था गरिदिने मानिसहरूले माग गरेका छन्। घटनाको खबर पाएर मन्तादारी ग्राम पञ्चायत प्रधान दीपक विश्वास, तृणमूल युवा कांग्रेसका ब्लक अध्यक्ष तुषारकान्ति दत्त लगायत इलाकाका जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। तृणमूल युवा कांग्रेसका ब्लक अध्यक्ष तुषारकान्ति दत्तले भने, यस सडक भएर दिनहुँ हजारौँ मानिसहरू आवत-जावत गर्ने गर्छन्। यसैले बीडीओ तथा विधायकसित भेट गरेर डायभर्सन ब्रिज बनाउने विषयमा कुराकानी गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *