कथाकार राजेन मोक्तानको कथा संग्रह ‘जार’ सार्वजनिक

खरसाङ (निसं): बहुमुखी प्रतिभाका धनी वरिष्ठ कथाकार, उपन्यासकार, फोटोग्राफर, चित्रकार, सम्पादक राजेन मोक्तानले पाठकका हातमा आफ्नो नयाँ कथा सङ्ग्रह ”जार” थमाइदिएका छ्न्। कथाकार मोक्तानलाई माया गर्ने शब्द समयका केही सदस्यहरूले स्थानीय गोम्देन टी-बारको सविता गोम्देन साहित्य कक्षमा हात-हातमा पुस्तक ”जार” लिएर लेखकको यो कृतिलाई ग्रहण गरे। यस अवसरमा एउटा छोटो कार्यक्रम पनि आयोजना गरिएको थियो। कृतिकारको अनुपस्थितिमा कृतिलाई नै लेखकको उपस्थिति मानेर यो कार्यक्रम नौलो ढङ्गमा सम्पन्न गरियो। शैलेन्द्र समदर्शीद्वारा सञ्चालित यस कार्यक्रममा वरिष्ठ कवि-समालोचक प्रा. डा. सञ्जय बान्तवाले भारतीय कथा लेखनको दुई दशक विषयमाथि खुबै गहन कुराहरू राखेका थिए। उनले दुई दशकमा भारतीय नेपाली कथा लेखनमा आएका धार र धाराहरू केलाउँदै त्यसबारे अध्ययनशील र जानकारीमूलक कुराहरू बारे जानकारी गराए। यस अवसरमा कृति ‘जार’-भित्रका कथाहरू पढ्दा आफूले भेटाएका कुराहरू अनि गरेका अनुभवहरू वरिष्ठ कवि-कथाकार-चिन्तक ज्ञानेन्द्र खतिवडाले राखे।


उनले कथाकार राजेन मोक्तानका कथाहरू अध्ययन गर्दा पाइएका तथ्यहरू अनि कथाकार मोक्तानको लेखन शिल्पबारे बताए। उपस्थित अन्य वरिष्ठ साहित्यकार, सर्जक अनि साहित्यप्रेमीहरूले पनि कथाकार राजेन मोक्तान अनि उनको कथाकारितामाथि केही कुराहरू बताए। आफ्ना विचार अनि कुराहरू राख्ने क्रममा वरिष्ठ साहित्यकारहरू क्रमैले कवि भविलाल लामिछाने, कवि मोहन ठकुरी, चिया उद्योगका पूर्व अधिकारी अरूण कुमार गोम्देन, युग्मककार कालूसिंह रनपहेंली, कथाकार-अनुवादक जीतबहादुर सुनार, कवि लीलबहादुर सुनार, भूतपूर्व डीएसपी कवि निर्मल सिञ्चुरी, कवि हेमन्त काफ्ले, पुलिस विभागका भूतपूर्व अधिकारी साथै सर्जक पूर्ण मंगर आदि थिए। कार्यक्रममा गोम्देन टी-वारका स्वामी अनन्त गोम्देनको विशेष उपस्थिति रहेको थियो। प्रमिला प्रकाशन, दार्जीलिङद्वारा प्रकाशित यो कृतिमा कथाकार मोक्तानका नौवटा कथाहरू सङ्ग्रहित छ्न्। सन् 2023 मा पहिलो संस्करणको रूपमा प्रकाशित यो कृतिको भूमिका प्रसिद्ध समालोचक पेम्पा तामाङले लेखेका छ्न्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *