केन्द्रीय वाहिनीको गोली लागेर मर्नेहरूको सीआईडी-ले जाँच गर्ने : ममता ब्यानर्जी

सिलगढी : माथाभाङ्गामा केन्द्रीय वाहिनीद्वारा चलाइएको गोली लागेर चारजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटनाबारे चुनाउ आयोगले दिएको जानकारी अनुसार केन्द्रीय वाहिनीका जवानहरूलाई मानिसहरूले घेराउ गरेर हतियार खोस्ने प्रयास गरिरहेको समय आत्मरक्षाको लागि तिनीहरूले गोली चलाएको बताइएको छ। उक्त घटनालाई लिएर तृणमूल नेत्री ममता ब्यानर्जीले क्षोभ प्रकट गर्दै घटनाको सीआईडी जाँच गरिनुपर्ने माग गरेकी छन्। तिनले आज साँझ सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकारहरूसित कुराकानी गर्दै भनिन्, चुनाउ आयोगले कुचबिहारमा एकजना नयाँ एसपीलाई मनोनित गरेको छ भने योजना बनाएर नै उक्त घटनालाई कार्यान्वित गरेको तिनले  आरोप लगाइन्। घटना अवधि केही मानिसहरूले मोबाइल मार्फत् फोटो खिँचेका थिए भने ती फोटोहरू समेत डिलीट गरिदिएको कुरो आफूले सुनेको तिनले बताइन्। यी सबै कार्यहरू दिल्लीको निर्देशमा गरिरहेको तिनले गम्भीर आरोप लगाउँदै पूर्व योजना अनुसार यस घटनालाई कार्यान्वित गरेर तिनीहरूलाई क्लीनचिट दिएको समेत जनाइन्। तिनले भनिन्, मतदाताहरूको हत्या गर्नु भनेको लोकतन्त्रको हत्या गर्नु हो। अर्कोतिर, तृणमूल नेत्री ममताले विशेष गरेर पुलिस पर्यवेक्षक विवेक दुबे र गृहमन्त्री अमित शाहले राजीनामा दिनुपर्ने माग समेत गरेकी छन्। भोलि माथाभाङ्गा गएर ममताले मृतकहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने साथै पीडित परिवारका सदस्यहरूसित भेटघाट गरेपछि अलिपुरद्वारतर्फ प्रस्थान गर्ने भएका छन्। माथाभाङ्गाको शीतलकुचीमा भएको आजको घटनालाई लिएर तृणमूल कङ्ग्रेस क्षोभ प्रकट गर्दै भोलि यस घटनाको विरोधमा प्रत्येक ब्लकबाट समर्थकहरू सडकमा ओर्लिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *