केन्द्रीय पर्यटन मन्त्रीको टिप्पणीको विरोधमा मेडिकल कलेजमा विरोध प्रदर्शन

सिलगढी : दार्जिलिङ जिल्ला राज्य सरकारी कर्मचारी फेडरेशनको स्वास्थ्य शाखाका कर्मचारीहरूले केन्द्रीय पर्यटन मन्त्रीद्वारा गरेको टिप्पणीको विरोधमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अधीक्षक कार्यालयअघि धरना प्रदर्शन गरे। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार लगायत अन्य तृणमूल नेताहरू पनि उक्त धरना प्रदर्शनमा सामेल थिए। स्मरण रहोस्, गत शुक्रबार केन्द्रीय मन्त्री प्रह्लाद सिंह पटेल खोरीबारी निवासी 10 वर्षीय दुष्कर्म पीड़िता आदिवासी नाबालिकासित भेट गर्न अस्पतालमा पुगेका थिए। यस अवधि तिनले मेडिकल कलेजको वर्तमान स्थितिमा क्षोभ प्रकट गर्दै मेडिकल कलेजभन्दा राम्रो व्यवस्था पशु चिकित्सालय रहेको बताएका थिए। दार्जिलिङ जिल्ला राज्य सरकारी कर्मचारी फेडारेशनका स्वास्थ्य कर्मचारीहरूले तिनको उक्त टिप्पणीको विरोध जनाउँदै सबै सरकारी कर्मचारीहरूले एक घण्टा पेन डाउन र एक घण्टासम्म धरना प्रदर्शन गरे। यस अवसरमा रञ्जन सरकारले उत्तरबंग मेडिकल कलेज उत्तर बंगालको गौरव रहेको बताउँदै मेडिकल कालेजलाई लिएर बाहिरबाट आएका सांसद र केन्द्रीय मन्त्रीले कोरोना परिस्थितिमा पनि स्वास्थ्य कर्मचारीहरूप्रति सहानुभूति व्यक्त नगरेर उल्टै यस प्रकारको अभद्र टिप्पणी गरे जुन उचित नरहेको तिनले जनाए। केन्द्रीय पर्यटन मन्त्रीले चाँडै माफी माग्नुपर्ने तिनले माग गरेका छन्। अर्कोतिर, सिलगढी सांगठनिक भाजपाका महासचिव आनन्दमय बर्मनले यस धरना प्रदर्शन एउटा नाटक रहेको बताउँदै राज्यभरिमै स्वास्थ्य व्यवस्था ध्वस्त भइसकेको जनाए। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको स्थिति निक्कै खराब रहेकोले गर्दा केन्द्रीय मन्त्रीले यस प्रकारको टिप्पणी दिएको तिनले बताए। तृणमूल कांग्रेसले आउँदो विधानसभा चुनाउमा आफ्नो पार्टी पराजय हुने कुरालाई बुझेर नै यस प्रकारको नाटक गरिरहेको तिनले आरोप लगाए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *