‘खेला होबे दिवस’-को उपलक्ष्यमा सिलगढीमा फुटबल प्रतियोगिताको आयोजना

सिलगढी : पश्चिमबंग सरकारको क्रीडा तथा युवा कल्याण विभागको पहलमा राज्यभरिमै खेला होबे दिवस पालन गरिरहेको छ। सिलगढी नगरनिगम तथा जिल्ला युवा कल्याण विभागको व्यवस्थापनमा सिलगढी कञ्चनजङ्घा स्टेडियमको मैदानमा आज खेला होबे दिवस पालन गरियो। सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटिया, सिलगढीका महकुमाशासक प्रियङ्का सिंह, मेयर परिषद् दिलीप बर्मन, 12 नम्बर वार्डका काउन्सिलर बासुदेव घोष लगायत अन्यले दीप प्रज्ज्वलन तथा बेलुन उडाएर खेला होबे दिवसको उद्घाटन गरे। खेला होबे दिवसको उपलक्ष्यमा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ भने उक्त प्रतियोगितामा 6 वटा टोलीले अंश ग्रहण गरेको छ।


यसको साथै मैदानको हेरचाहको काम गर्नेहरूलाई विशिष्ट अतिथिहरूले उपहार पनि प्रदान गरे। स्मरण रहोस्, 16 अगस्त 1980 सालमा कोलकाताको डार्बीमा भयावह दुर्घटनामा 16 जना खेलाडीहरूले प्राण गुमाएका थिए। यसैले उक्त दिनलाई स्मरण गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले 16 अगस्तको दिन खेला होबे दिवसको रूपमा पालन गर्ने घोषणा गरेकी थिइन्। यसै अनुरूप 16 अगस्तको दिन प्रत्येक वर्ष सिलगढीमा पनि खेला होबे दिवस पालन गर्दै आइरहेको छ। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकारले भने, कोलकाताको डार्बी दुर्घटनामा परेर ज्यान गुमाउनेहरूलाई स्मरण गर्दै आज खेला होबे दिवस पालन गरेको हो। कञ्चनजङ्घा स्टेडियमलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित गर्ने आफूहरूको योजना रहेकोले यसमा सबैले सहयोग गर्ने तिनले अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *